पेशागत मर्यादालाई प्राथमिकता दिनुहोस्ः मुख्यमन्त्री कँडेल

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सञ्चारकर्मीहरूले पेशागत मर्यादालाई प्राथमिकतामा राखेर सूचना सम्प्रेषण गर्नुपर्ने बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिको बैठक एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पेशागत मर्यादालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । ‘पेशागत मर्यादामा रहेर आमनागरिकलाई सूचना प्रवाह गर्ने थलोको रूपमा चौतारीलाई उभ्याउनुहोस्,’ उनले भने, ‘सकारात्मक विचार निर्माणमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुन्छ ।’ प्रेस चौतारी नेकपा (एमाले) को अग्रणी जनसंगठन भएको बताउँदै उनले सकारात्मक विचार निर्माण गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिए । उनले सत्य नलुकाउन र मित्थ्या नफैलाउन चौतारीमा आवद्ध पत्रकारहरूलाई आग्रहसमेत गरे ।
यस्तै, बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले संगठनलाई थप बलियो, सुदृढ र व्यवस्थित गर्न चौतारीले २०८२ लाई प्रशिक्षण वर्षका रूपमा घोषणा गरेको बताए । प्रशिक्षण वर्षको उत्साहपूर्वक कार्यान्वयनमा लाग्न उनले निर्देशन दिए । बैठकमा नेकपा (एमाले) कर्णाली प्रदेशका कार्यबाहक अध्यक्ष टेकराज पछाईं, चौतारीका केन्दीय महासचिव हिरामान लामा, चौतारी कर्णाली प्रदेश इञ्चार्ज याम शर्मालगायतले आ–आफ्नो भनाइ राखेका थिए । बैठकले आगामी कार्ययोजनासँगै प्रदेश समितिले निर्माण गरेको नयाँ वर्षको क्यालेण्डरसमेत विमोचन गरेको छ । सो बैठकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकारको पेशागत हकहित र दक्षता अभिवृद्धि एवम् मिडिया उद्योगको संरक्षण र विकासको सवालमा छलफल भएको थियो । चौतारी कर्णाली प्रदेश समितिको दोस्रो बैठक तथा प्रशिक्षण कार्यक्रम ११ बुँदे घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ ।

 

प्रकाशित मितिः   May 18, 2025 at 9:30 am 


  • प्रतिक्रिया दिनुहोस्