कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

सुर्खेतः
कर्णाली प्रदेश सरकारको कानुनी सल्लाहकारमा कृष्णबहादुर हमाल नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवक्ता हमाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६० को उपधारा (५) बमोजिम नियुक्त गरिएको हो । हमालले सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्य न्यायाधिवक्तामा नियुक्त हमाल सुर्खेतको वीरेन्द्रनगर–५ का बासीन्दा हुन् ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकार हुने संवैधानिक व्यवस्था छ । मुख्य न्याधिवक्ताले कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अधिकारीलाई राय सल्लाह दिन्छन् । हालसम्म कर्णाली सरकारको मुख्य न्याधिवक्ता पाँच जना बनेका छन् । योभन्दा पहिले विद्याभूषण मानन्धर, मातृकाप्रसाद खनाल, धुव्रकुमार श्रेष्ठ र नरबहादुर खड्का मुख्य न्यायाधिवक्ता भइसकेका छन् । सरकारको नेतृत्व गर्ने दलले आफू निकट कानुन व्यवसायी तथा अधिवक्तालाई कानुनी सल्लाहकार नियुक्त गर्ने परिपाटी रहेको छ ।

प्रकाशित मितिः   May 6, 2024 at 12:58 pm 


  • प्रतिक्रिया दिनुहोस्