सुर्खेतः नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले बुधबार महिला भेला गर्ने भएको छ। यही जेठ १६ र १७ गते प्रज्ञा भवन कमलालीमा महिला भेला गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता पार्टी अध्यक्ष केपी शर्मा ओली हुने बताए। २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावको रूपमा पास गरेको थियो।
संसदको यही संकल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो। नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ । ‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं,’ पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य ढकालले भने, ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको चर्चा गरिनेछ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिनेछ ।’
महिला सशक्तीकरणका दृष्टिले भेला महत्त्वपूर्ण हुने तथा भेलाले समाजको अग्रगतिका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्दै स्थायी कमिटी सदस्य ढकालले यसबाट पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन महिलाको भूमिका प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। उनका अनुसार, उद्घाटन कार्यक्रम २०८१ जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा करिव पाँच हजार महिलाको सहभागितामा हुनेछ।
प्रकाशित मितिः May 27, 2024 at 1:01 pm


कर्मसञ्चार । २०८१ जेष्ठ १४ गते सोमवार