नेकपाको चियापानमा ५० हजारलाई निम्तो

काठमाडौं, ७ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी शनिबार चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए ।
गत वर्ष सङ्घ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन । चियापानको तयारीबारे बुधबार नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गरे ।
चियापानका लागि नेकपाले करीब ५० हजारलाई निम्ता गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार चियापानमा करीब ३५ हजार सहभागी हुने छन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ ।
केन्द्रीय सदस्य श्रेष्ठले दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बताए । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुने छन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरिनेछ ।

प्रकाशित मितिः   October 24, 2018 at 3:29 pm 


  • प्रतिक्रिया दिनुहोस्