ब्युँतिएको एमालेमा जिम्मेवारी तोकियो, नेपाल समूहका नेताको जिम्मेवारी खोसियो, मंसिमा महाधिवेशन

सुर्खेतः नेकपा एमालेले पार्टीमा कार्यविभाज गरेको छ । एमालेले प्रदेश पदाधिकारी, कमिटी र विभागमा नयाँ जिम्मेवारी तोकेको हो । कर्णाली प्रदेशको इञ्चार्जबाट युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेललाई जिम्मेवारी दिइएको छ । कँडेल विघटित नेकपाको कर्णाली सह–इञ्चार्ज थिए भने त्यसभन्दा पहिले एमालेका पोलिटब्युरो सदस्य हुन् ।
यस्तै, प्रदेश कमिटीमा सह–इञ्चार्ज गोरख बोगटीलाई बनाइएको छ । उनी यसअघि नेकपाको प्रदेश कमिटी अध्यक्ष थिए । एमाले प्रदेश अध्यक्षको जिम्मेवारी गुलावजंग शाहलाई दिएको छ । शुक्रवार जिम्मेवारी पाउने सबै नेता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् । धर्मराज रेग्मी प्रदेश कमिटीको सचिव भएका छन् । रेग्मीले नेकपामा ओली र माधव–प्रचण्ड समूह अलग भएका बेला ओलीलाई साथ दिएका थिए । उनी माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेकपामा उनी सुरूवाती चरणदेखि नै ओली समूहसँग निकट मानिन्थे । माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित ठम्बर विष्ट पनि एमालेमा प्रवेश गरेका छन् । उनलाई एमालेले केन्द्रीय सदस्य बनाएको छ ।
सर्वोच्च अदालतको फैसलापछि केही दिन पहिले ब्युँतिएको नेकपा एमालेमा जिम्मेवारी हेरफेर गरिएको छ । एमाले ओली पक्षीय केन्द्रीय कमिटी बैठकले सात प्रदेशका इन्चार्जसहित पदाधिकारी तोकेको छ । शुक्रवार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेको विधानमा रहेको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरेर सात प्रदेशका इन्चार्ज र केहीमा पदाधिकारी परिवर्तन गरेको हो ।
एमाले अध्यक्ष ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरूलाई जिम्मेवारीबाट हटाइएको छ । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् । बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
यस्तै, प्रदेश १ को इञ्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इञ्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ । प्रदेश २ मा भने सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरू ओली पक्षका नेताहरु हुन् । यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।
एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व एमालेमा प्रदेश कमिटी नभएर अञ्चल कमिटी रहेको र त्यसलाई परिवर्तन गर्नका लागि विधानको बाधा अड्काउ फुकाउको व्यवस्था प्रयोग गरिएको ओली समूहका नेताहरूले बताएका छन् । शुक्रवारको कार्यविभाजन सुरुवाती चरणमात्रै रहेको एमालेका नेताहरूको भनाइ छ । एमालेको नेपाल पक्ष सहभागी नरहेको बैठकले उनीनिकट नेताहरूको जिम्मेवारी खोसेको हो ।
नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् । एमालेले केन्द्रीय महाधिवेशन आयोजक कमिटी पनि बनाएको छ ।
प्रकाशित मितिः March 12, 2021 at 8:33 pm























कर्मसञ्चार । २०७७ फागुन २८ गते शुक्रवार