कर्णालीको ४६ प्रतिशत बजेट पर्यटन क्षेत्रमा

सुर्खेतं, १८ पुस ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रमा मात्र ४६ प्रतिशत बजेट रहेको बताएका छन् ।पर्यटनमन्त्री बुढाले पर्यटन क्षेत्रमा बजेट कमी नभए पनि जनशक्ति अभावले कार्यान्वयनमा चुनौती देखिएको बताए।

‘संघ र प्रदेश सरकारले कुल एक अर्ब २३ करोड रुपैयाँ बजेट पर्यटन क्षेत्रमा विनियोजन गरेका छन्’, मन्त्री बुढाले भने,’यद्यपि सुरुको वर्ष र कर्मचारी अभावले नियमित विकासका गतिविधि सञ्चालनमा प्रभाव परेको छ।’

उनले कर्णाली सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को शुभारम्भ गरेपश्चात् यहाँ पर्यटकको चहलपहल बताए ।

‘गत भदौदेखि मंसिरसम्म रारा हेर्ने पर्यटक २० हजार पुगेका छन्’, उनले थपे,’कर्णालीका १० जिल्लाका प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीयस्थल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको तथ्यांक संकलन गर्न त बाँकी नै छ।’

रारा र से–फोक्सुण्डो वरिपरि पदमार्ग निर्माण गर्ने भन्दै उनले प्रत्येक जिल्लामा एक/एक पर्यटकीय गन्तव्य निर्धारण गर्नुका साथै शैक्षिक पर्यटनलाई समेत प्राथमिकता दिने जानकारी दिए।

प्रकाशित मितिः   January 2, 2019 at 3:38 pm 


  • प्रतिक्रिया दिनुहोस्