पूँजीगत खर्च ५३ प्रतिशत

काठमाडौँ, १८ असार । चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशतमात्र भएको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा विकास खर्चले अपेक्षित गति लिन नसकेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको यस अवधिमा रु तीन खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार पूँजीगत खर्च हुने लक्ष्य लिएकामा रु एक खर्ब ७८ अर्ब ४५ करोड १२ लाख पाँच हजारमात्र खर्च भएको छ । यो लक्ष्यको ५३.२४ प्रतिशतमात्र हो ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजारको लक्ष्य लिइएकामा रु ८३ अर्ब ७९ करोड ९२ लाख ८८ हजार अर्थात् ५९.७३ प्रतिशत खर्च भएको छ । अर्थमन्त्रालयले वित्तीय व्यवस्थातर्फको खर्चलाई पनि पूँजीगत खर्चकै रुपमा लिने गरेकाले विकास खर्च केही बढी हुनेछ ।

यस अवधिमा चालु खर्च भने ८०.६३ प्रतिशतको प्रगति भएको छ । यस अवधिमा रु आठ खर्ब तीन अर्ब ५३ करोड ३६ लाख ५४ हजारको लक्ष्य लिइएको थियो । कार्यालयअनुसार यही असार १७ गते अर्थात् आइतबारसम्म रु छ खर्ब ४७ अर्ब ९२ करोड २९ लाख ७१ हजार चालु रकम खर्च भएको छ ।

यस अवधिमा रु सात खर्ब ३० अर्ब पाँच करोड ५५ लाख ७० हजार राजश्व संकलनको लक्ष्य लिइएकामा ८९.९१ प्रतिशत अर्थात् रु छ खर्ब ५६ अर्ब ४१ करोड १४ लाख ९७ हजार राजश्व संकलन भएको छ ।

प्रकाशित मितिः   July 23, 2018 at 6:39 am 


  • प्रतिक्रिया दिनुहोस्