कलकल कर्णालीको

देश अनौठो मोडमा छ । कसैले नसोचेको र कसैले रोक्न नसक्ने परिवर्तनको मोड हो यो । विगत केही समयमा प्रदेश एक, दुई, तीन, गण्डकी र पाँचका केही भाग घुम्ने अवसर जु-यो । अहिले कर्णाली प्रदेश पनि आइपुगियो । यहाँ आएर छक्क परियो कि परिवर्तन कुन वेगले स्थापित हुँदो रहेछ समाजमा । हिजोको सुर्खेतले कर्णाली प्रदेशको राजधानी बन्ने अवसर पाएको छ । राजा वीरेन्द्रले पहिचान गरेर ठम्याएपछि मध्य–पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र बन्ने अवसर पाएको थियो सुर्खेतले । सुर्खेत सहर बसाइँदा, म एक्लो पत्रकार त्यहाँ पुगेको थिएँ । सहरको निर्माण बिस्तारै हुँदै गरेको थियो । राजा वीरेन्द्र मध्यपश्चिम विकास क्षेत्रको भ्रमणको सिलसिलामा सुर्खेत ओर्लिएपछि अरू पत्रकारका पाइला पनि परेका थिए यो धर्तीमा ।

सुर्खेतको कायापलटको कथा सुरु हुन्छ, २०२९ सालदेखि । सुर्खेतका पुराना पत्रकार श्रीधर पौडेलले दिएको जानकारीअनुसार २०२९ देखि राजा वीरेन्द्रको हुकुमअनुसार नगर योजना प्रारम्भ भयो । राजा वीरेन्द्रले माधवभक्त माथेमालाई सुर्खेत सहर बसाउने जिम्मा दिएका थिए । माथेमाले चण्डिगढको डिजाइनमा बनाए सुर्खेत । सुर्खेतको पहिलेको सदरमुकाम गोठीगाँडाबाट सदरमुकाम सुर्खेत ओर्लियो । २०३३ मा राजा आउन्जेलसम्म सहरको रूपरेखामा परिवर्तन आइसकेको थियो ।

कुरा २०३३ सालको हो । शाही नेपाल वायु सेवा निगमको ट्विनअटर विमानबाट सुुर्खेत ओर्लिंदा विमानस्थल चकमन्न थियो । कहाँ जाने ? मलाई थाहा थिएन । सुर्खेतका बस्तीसँग परिचित नहुनु मेरा लागि स्वाभाविक थियो । यस भेगमा म कहिल्यै आएको थिइनँ । सुर्खेतसँग दाङ, दैलेख र बर्दिया जोडिएका छन् भन्ने पनि थाहा थिएन । काठमाडौंबाट नेपालगन्जसम्म लामो दूरीको विमान चढेको पनि त्यो नै पहिलोपटक थियो । त्यसपछि छोटो दूरीमा नेपालगन्जबाट सुर्खेतसम्म हवाईजहाज चढेको पनि त्यसै बखत थियो । गोरखापत्रबाट पेस्की बुझ्दा अन्योलमा परेको थिएँ म । त्यस्तो पेस्की पाउने पहिलो स्तम्भकार पनि सायद म नै थिएँ । म गोरखापत्रमा ‘हाम्रा गाउँघर’ स्तम्भ लेख्थेँ । ठूलो आकारको पत्रिकाको नाममा गोरखापत्र मात्रै प्रकाशित हुने त्यो समयमा मेरो स्तम्भ निकै लोकप्रिय थियो ।

त्यो समयको सुर्खेत र अहिलेको सुर्खेत । इतिहास र आधुनिकताबीच त तुलना नगरेकै जाति । तीन वर्षअघि देखेको सुर्खेत र अहिले देखिएको सुर्खेतको असाधारण चरित्रसमेत आफैँमा तुलना गर्न नसकिने छ । सुर्खेत अहिले महानगरका रूपमा विकसित हुँदै छ । कर्णाली प्रदेशको राजधानी सहर भएकाले यसको बायोडाटा लामो भएको छ । भनाइ अतिरञ्जनापूर्ण पटक्कै छैन । सुर्खेतको मुख्य सहर वीरेन्द्रनगर टेक्निकल सामग्रीको हब बनेको छ । अचेलका केटाकेटीका आवश्यकता पनि के–के हुन् के–के ? उनीहरूलाई स्कुलमा चाहिने पनि के–के हो के–के ? बाबु–आमा गुनासो त गर्छन्, तर स्कुलको आदेश टार्न सक्दैनन् । अभिभावकले नबुझे पनि अंग्रेजी शिक्षा लोकप्रिय छ ।

पूरै कर्णाली प्रदेश गरिब छ । यो तथ्य टड्कारो भए पनि राजधानी सहर सुर्खेत समृद्ध बन्ने आशा राखेका छन् सबैले । ठूलो कुरा त कर्णालीको राजधानी सुर्खेत बन्नेबित्तिकै केन्द्रीय सञ्चार माध्यमको ध्यान यहाँ केन्द्रित भयो । सुर्खेतबाट झंकृत भएका आवाज जतासुकै पुग्न थालेका छन् । आर्थिक हिसाबले पनि जनताले राम्रै मानेका छन् । सुर्खेतमा जग्गाको कारोबार ह्वात्तै बढेको छ । पहिले सुर्खेतमा बसाइँ सर्नेहरू दैलेख र जाजरकोटतिरका मानिस हुन्थे । अहिले दसै जिल्लाका मानिस सुर्खेतमा घरघडेरी जोड्न लालायित छन् ।

जग्गाको कारोबार मात्रै होइन, घरभाडा पनि उत्तिकै बढेको छ । आवास क्षेत्रमा केही समयअघिसम्म मासिक १५ सय रुपैयाँमा पाइने प्mल्याटको भाडा बढेर मासिक तीन हजार पुग्यो । बजार पहिलेको भन्दा गुलजार भयो । किनभने, प्रदेशस्तरीय कार्यक्रमको संख्या उत्तिकै बढ्यो । राजधानी भएपछि मानिसको भिड लाग्नु स्वाभाविक थियो । तर, भौतिक संरचना भने समयअनुकूल थिएनन् । बाटो बनाउनु, पेटी बनाउनु, सहरी सुधारका अन्य कुरामा ध्यान दिनु सम्भव थिएन ।

काठमाडौंजस्तो सर्वाधिक बजेट हुने महानगरपालिकाले त त्यस्तो काम गर्न सकेको छैन भने बिचरो न्यून स्रोत भएको वीरेन्द्रनगर नगरपालिकाले कसरी धानोस् विकास ? सहरप्रतिको बढ्दो आकर्षण र राजधानी हुनुको फाइदा पाएको छ सुर्खेतले । सहरको छेउमा रहेको विमानस्थलमा यात्रु नपाएको कारणले विमान ओर्लिन छाडेका थिए । देशको राजधानी काठमाडौं सहरसँगको सीधा सम्पर्क टुटेको थियो यो सहरको । तर, २०७५ को वैशाखदेखि हवाई सेवा सुचारु भएको छ । सहरमा विमान ओर्लिन थालेपछि चढ्ने मानिसको संख्या पनि बढेको छ ।

दशक लामो द्वन्द्वकालमा सुर्खेत युद्धकालमा स्थापित शान्तिकेन्द्रजस्तो थियो । घटना नभएका होइनन्, तर ती घटना युद्धका हिसाबले नगण्य थिए । यहाँका पत्रकारहरू शान्तिदूत बनेर माओवादीले अपहरण गरेका गैरमाओवादी र गैरमाओवादीको अपहरणमा परेका माओवादीको रिहाइको मध्यस्थता गर्थे । हालका सभामुख कृष्णबहादुर महरा सुर्खेतमा वेलावेलामा देखा पर्थे । यसो भन्दा ठीक होला, यहाँ माओवादीका नेता पनि आराम फर्माउन आउँथे, सुरक्षाकर्मी पनि यहीँ आराम फर्माइरहेका हुन्थे । शान्तिको पहल खोज्नेहरूको पनि अभाव थिएन । अहिलेलाई सुर्खेत शान्त छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेशको भविष्यबारे भन्छन्, ‘कर्णालीमा प्राकृतिक स्रोतको अपार सम्भावना छ भनेर मात्रै भएन । यो अपार सम्भावनालाई यथार्थमा कसरी ‘धन’मा परिणत गर्न सकिन्छ ? मुख्य चिन्ता त्यही हो । हाम्रो संविधान झगडाकै धङधङीमा तयार भयो । अहिले पनि कचमच बाँकी नै छ । संविधानले अनुदारवादी राय बोलेको छैन । यसबारे नयाँ बहस चलाउन सकिन्छ । अहिले काम गर्नु जरुरी छ ।  जति सकिन्छ, कामबाट पर हुनु हुन्न हामी ।’शाहीको औपचारिक राय मत्थर छ । तर, कर्णालीले विकासमा तीव्रता खोजेको छ । कर्णालीको विकासले विश्वमा उदाहरण स्थापित गर्नुपर्छ । कर्णालीका नेताहरू हावामा मुड्की चलाउन चाहँदैनन् । त्यो कसैका लागि पनि  राम्रो होइन ।

नयाँ पत्रिकाबाट

प्रकाशित मितिः   January 18, 2019 at 6:26 pm 


  • प्रतिक्रिया दिनुहोस्