
सुर्खेत–दैलेख सडकखण्डको कटकुवास्थित सडक छेउमा छाडिएका गाई । तस्वीरः– कर्म सञ्चार
सुर्खेतः २०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाई/गोरु र बाच्छारबाच्छी दैलेख लैजाने क्रममा रत्न राजमार्ग तथा सुर्खेत–दैलेख सडक खण्डको कटकुवा क्षेत्रमा मरेका थिए । आठ वटा ट्रकमा ल्याइएका दुई सय ९१ मध्ये ३९ वटा गाई/गोरु मरेको अवस्थामा भेटिएका थिए । अन्य गाई/गोरु र बाच्छारबाच्छी सडकमै अलपत्र छाडिएको थियो । सोही घटनाको मुद्दामा सुर्खेत जिल्ला अदालतले १० जनालाई जेल सजाय तोकेको छ । गौवध मुद्दामा संलग्न नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहितलाई सजाय तोकिएको हो । गाई मारेको मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित सात जनाले भने सफाइ पाएका छन् ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधवार मुलुकी अपराध संहिताको २८९ अनुसार न्यूनतम तीन महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको हो । सबैभन्दा बढी सजाय नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई डेढ वर्ष तोकिएको छ ।
यस्तै, नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई एक वर्ष कैद तोकिएको छ । नगर प्रहरी जवानहरु सुशान्त शाही, कमल बयक, सुवर्ण तारामी मगर र चन्द्रबहादुर रानालाई ६/६ महिना जेल सजाय तोकिएको छ । प्रहरी जवान पवनकुमार कनोजियालाई पाँच महिना, नगर प्रहरी जवानद्वय राकेश भारती, धर्मेन्द नेपाली र फायरम्यान कमल थापा मगरलाई तीन/तीन महिना जेल तोकिएको हो ।

अनुसन्धानको दायरामा तानिएका बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको हकमा भने जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । गाई ओसार्नको लागि ट्रक उपलब्ध गराउने गुड्स क्यारियर ट्रान्सपोर्टका सञ्चालक सन्तृप्त सिंह श्रेष्ठ र ट्रक चालकहरू दामोदर केसी, हिमबहादुर जिसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा तथा सहचालकहरू विवेक कुँवर र कृष्णबहादुर बिसीले सफाइ पाएका छन् ।
अनुसन्धानको क्रममा पशु ढुवानी मापदण्ड निर्देशिका विपरीत लोड गरेर ढुवानी गर्दा गाई/गोरु र बाच्छारबाच्छीहरु केही निस्सासिएर त केही एकअर्काले कुल्चेर मरेको पाइएको थियो । ट्रकहरुलाई स्कर्टिङ गरेर आएको नगर प्रहरी निरीक्षकको टोलीले सोही राति सुर्खेतको कटकुवा र बिउरेनी जंगलमा गाई झारेको थियो । अदालतमा पेश गरिएको मेडिकल रिपोर्टमा समेत मरेका गाई–गोरु र बाच्छा–बाच्छीहरु चोटपटक लागेर मृत्यु भएका उल्लेख छ । अदालतबाट कैद सजाय भएका सबैजना यसअघि नै धरौटीमा छुटिसकेका छन् । यद्यपी, सुर्खेत जिल्ला अदालतले अदालतको आदेशमा उनीहरूलाई प्रहरीले पक्राउ गरी जेल पठाउन सक्ने जनाएको छ । फैसला उपचर चित्त नबुझे उनीहरूले ७० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।
https://karmasanchar.com/2019/08/3753/
प्रकाशित मितिः January 28, 2021 at 4:49 pm


कर्मसञ्चार । २०७७ माघ १५ गते बिहीवार