
सुर्खेतः कर्णाली प्रदेशमा हालसम्म ६५ हजार दुई सय ५५ स्वाब परीक्षण गर्दा दुई हजार सात सय १९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यो तथ्याङ्क हेर्दा कर्णालीमा कोरोनाको संक्रमणदर ४ दशमलव २ प्रतिशत हो । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । मृत्युदर शून्य दशमलव २३ प्रतिशत छ । दुई हजार सात सय १९ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको ज्यान गएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कुल संक्रमितमध्ये दुई हजार तीन सय ५४ जना कोरोनामुक्त भइसकेका छन् ।
बिहीवार विहानसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या तीन सय ५९ रहेको छ । ‘एक्टिभ केस’ भएका सुर्खेतमा एक सय ६०, दैलेखमा २२, सल्यानमा १५, जाजरकोटमा सात, रुकुुम–पश्चिममा १०, जुम्लामा ६३ र कालीकोटमा २० जना आइसोलेसनमा उपचाररत छन् । ती बाहेक अन्य संक्रमित होम आइसोलेसनमा रहेको जनाइएको छ । कोरोना विशेष अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार प्रदेशमा हालसम्म कोभिड–१९ का गम्भीर लक्षण भएका संक्रमित भेटिएका छैनन् । संक्रमितलाई आईसीयु तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छैन । प्रदेशमा कोरोना पुष्टि भएर अस्पताल भर्ना हुने झण्डै ९८ प्रतिशत संक्रमित लक्षणविहीन छन् ।
हालसम्म दैलेखमा एक हजार ५८, सुर्खेतमा सात सय ९२, सल्यानमा दुई सय ७५, जुम्लामा एक सय ८३, कालीकोटमा एक सय १२, रुकुम–पश्चिममा ६९, जाजरकोटमा ५९, मुगुमा १३, हुम्लामा सात र डोल्पामा पाँच जनामा संक्रमण देखिएको छ । अन्य प्रदेशमा स्थायी ठेगाना भइ कर्णालीमै बस्दै आएका एक सय ४६ जनामा पनि संक्रमण पुष्टि भएको छ । हुम्ला, मुगु र डोल्पा भने संक्रमणमुक्त भइसकेका छन् । यी जिल्लामा कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन् ।
प्रकाशित मितिः September 10, 2020 at 1:50 pm













कर्मसञ्चार । २०७७ भाद्र २५ गते बिहीवार