
सुर्खेत, ८ फागुन ।
नेपाल–भारत–तिब्बत हुँदै चीन जोड्ने त्रिदेशीय सडक निर्माण योजना लामो समयदेखि अन्यौलमा छ । सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–घाटगाउँ–गुुटु–मंगलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माणले गति लिन नसकेको हो ।
यो रुटमा सुर्खेतको गुटुबाट अछाम सदरमुकाम मंगलसेन जोडिन अब चार किमी बाँकी छ । यस क्षेत्रका बासीन्दाले पाँच दशकदेखि हालसम्मकै छोटो र सजिलो मानिएको व्यापारिक महत्वको त्रिदेशीय सडक निर्माणलाई प्राथमिकता दिन माग गर्दै आएका छन् ।
कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँसम्म सडक निर्माण भइसकेको छ । चौकुने गाउँपालिका अन्तर्गत पर्ने गुुटुका पूर्व जनप्रतिनिधि काशीराम देवकोटाले अछाम बाजुरा सडक सञ्जालमा जोडिसकेकाले तत्काल सुर्खेतको गुटु हुँदै मंगलसेन जोड्ने ट्रयाक निर्माण गरिनुपर्ने बताए ।
भारतलाई सडक सञ्जालबाट चीनसंग जोड्ने यो अति छोटो मार्ग हो । मानसरोवर तीर्थयात्रा जाने पैदल मार्ग पनि हो । सरकारले दुई वर्ष अघि बजेटमा उक्त सडकका लागि बजेट विनियोजन गरेपनि सुर्खेत खण्डमा अझै ट्रयाक विस्तार हुन सकेको छैन् । चालू आवमा चौकुने गाउँपालिकाले गुटु–साल्म–जंगलाघाट सडक निर्माणका लागि न्यून बजेट विनियोजन गरेको छ । कैलालीको सुंगुरखाल र घाटगाउँको चिप्लेमा साढे चार मिटर लामो मोटरेवल पुलका लागि समेत २२ करोड बजेट विनियोजन छ । त्रिदेशीय सडक सञ्जाल आसपासका बासिन्दाले कतरनिया–सती सुख्खा बन्दरगाह सञ्चालन गर्न माग राख्दै आएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले चिसापानी–गुटु–मंगलसेन फाष्ट ट्रयाक बहुवर्षीय योजना अन्तर्गत रहेको बताएको छ ।
डिभिजन प्रमुख गुरुप्रसाद घिमिरेले कर्णाली करिडोरलाई समेत समेट्ने गरी उक्त फाष्ट ट्रयाक निर्माण गर्दा त्रिदेशीय सडक सञ्जालको सपना चाँडै पुरा हुने विश्वास व्यक्त गरे । बजेट कार्यान्वयन नहुँदा यस क्षेत्रका बासिन्दाले सरकारसंग गुनासो गर्दै आएका छन् ।
तराई–पहाड जोड्ने छोटो मार्ग
तराई र पहाडी जिल्ला जोड्ने छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्रयाक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रमअन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामासमेत परेको थियो । अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३ सय ९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दुरी पर्ने छोटो मार्ग हो ।

कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले आझेलमा पर्दै गई रहेको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयक बताउँछन । उनले कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायात दूरी छोटो हुने बताए । उनले भने, ‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ ।’ कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए सुर्खेतको पश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने अर्का समाजसेवी देवबहादुर थापाले बताए ।
अझै ट्रयाक खुलेन
निर्माण कार्य शुरु भएको करिब आधा शताब्दी पुग्नै लाग्दा पनि कैलालीको चिसापानी हुँदै अछामको जंगलघाट मंगलसेन सडकखण्डको ट्रयाक अहिलेसम्म खुल्न सकेको छैन । २०२८ सालबाट निर्माण कार्य थालिएको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याक राजनीति ईच्छाशक्तिको अभावमा ४७ बर्ष वितिसक्दा समेत खुल्न नसकेको हो ।
अछामतर्फबाट सुर्खेतको सिमाना जंगलघाटसम्म १० बर्ष पहिले नै सडक पुगि सके पनि सुर्खेतको गुटुदेखि करिब १५÷२० किलोमिटर ट्रयाकमात्र खुल्न बाँकी छ । यो सडक ऐतिहासिक महत्व बोकेको सडक हो । विस २०२५ सालमा तत्कालिन पञ्चायती व्यवस्थाका अछाम जिल्ला सभापति हरीप्रसाद भण्डारीले भारतको तिकुनीयाबाट चिसापानी हुँदै मंगलसेनसम्म काँधमा बोक्दै, बाटो काट्दै जीप पु¥याएको यहि बाटो थियो ।
गाउँ–गाउँमा बाजागाजासहित खुशीयाली मनाउँदै र काँधमा बोक्न श्रमदान गर्दै मंगलसेनमा झण्डै ४९ वर्ष अघि जीप पुगाएपछि अछाम सुगम जिल्लामा राखिएको थियो । सडक समृद्धिको आधार हो भन्ने चेतनाकै कारण चिसापानी हुँदै मंलसेनसम्म सडक आयोजनाको माग सहितको विन्तिपत्र तत्कालिन राजालाई बुझाईएपछि २०२८ सालदेखि यो सडक निर्माण थालिएको हो । चिसापानीबाट करिव एक सय १० किलोमिटरको छोटो दूरीमै मंगलसेन पुगिने यो सडक निर्माणमा राज्यको खासै ध्यान पुगेको छैन ।
सडक निर्माण शुरु भएपछि हालसम्म देशमा थुप्रै व्यवस्था परिवर्तन भए । त्यो बेला जन्मिएका मान्छे अहिले सांसद मन्त्रीसमेत भैसक्दा पनि सडकको ट्रयाक नै नखुल्नु विडम्बना हो । त्यतीबेला जीप काँधमा बोकेर रमिता हेर्न गएकाहरु पनि अहिले त्यो सडकको चर्चा हराएकोमा चिन्तित छन् । चिसापानी–गुटु–मंगलसेन ट्याक्टर बाटो आयोजना नाम दिईएको त्यो सडक अहिले नेताहरुको भाषणमा समेत आउँदैन। यो बाटो तत्कालिन समयमा अछाम, डोटी, कालिकोट, मुगु, दैलेख, सुर्खेतका मानिसहरुले हाट (पिठ्यूमा नुन बोकेर ल्याउनु) जाने बाटोसमेत हो ।
४७ बर्ष पहिले गाडी लगेको सडकको अहिलेसम्म ट्रयाक नै नखुलेकोमा यस क्षेत्रका स्थानीय सबै चिन्तित छन् भने हरीप्रसादका आफन्तहरु बढी दुःखित छन् । यो सडकका लागि नियमित बजेट बिनियोजन भएपनिसहि सदुपयोग भने हुन सकेको छैन । यो सडकका लागि अछामतर्फ बजेट छुट्याउनुको जरुरी नरहेको र विषेशगरी सुर्खेततर्फ बजेट छुट्याउनु पर्ने सरोकारवाला बताउँछन् ।
अछाम उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगानाले यसअघि सडक डिभिजन कार्यालय महेन्द्रनगर र सुर्खेतमा छुट्याईएको बजेट सहि ठाउँमा खर्च नभएको बताए । ‘पहिलो काम भनेको गुटु–जंगलघाट ट्रयाक खोल्नु हो तर महेन्द्रनगर सडक डिभिजनले कैलालीको भागमा मात्र र सुर्खेतले अर्कैतिर बजेटखर्च गर्दा राज्यले छुट्याएको बजेट सहि सदुपयोग हुन सकेको छैन’, ढुंगानाले भने, ‘अछामका जनप्रतिनिधिहरुले चासो नै नदिने र सुर्खेत कैलालीका आफ्नैतिर बजेट खर्च गर्छन् । यो कुरामा राज्यले ध्यान दिन सकेको छैन ।’
सुर्खेत क्षेत्र नम्वर दुईबाट प्रतिनिधि सभा सदस्य नवराज रावतले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकलाई छिटो बनाउन संसदमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउँछन् । तर, उनले संघीय संसदमा कुरा उठाएपनि प्रदेश सरकारको बजेटमा भने सडक खण्ड समेटिएन ।
प्रकाशित मितिः February 20, 2019 at 6:33 pm













कर्मसञ्चार । २०७५ फागुन ८ गते बुधवार