कर्णालीमा पहिलो चरणमा प्राथमिकतामा परेका ८२ प्रतिशतलाई लगाइयो कोेरोनाविरुद्धको खोप, दोस्रो चरणको अभियानका लागी तयारी
सुर्खेतः कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ । कर्णालीमा ११ हजार सात सय ८१ जनालाई खोप दिने लक्ष्य लिइएकोमा नौ हजार चार सय २० जनालाई खोप लगाइएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार पहिलो चरणमा प्राथमिकतामा परेका ८२ प्रतिशतलाई कोरोनाविरुद्धको ‘भ्याक्सीन’ दिइएको छ ।
सरकारले जोखिम वर्गलाई प्राथमिकतामा राखेर खोप लगाउने आधार निर्धारण गरेको छ । पहिलो चरणको खोप कोरोना रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीले लगाएका हुन् । पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंसेविका, सरसफाइमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक तथा शब व्यवस्थापनमा खटिने व्यक्तिहरूलाईसमेत खोप लगाइको थियो । यस्तै, वृद्धआश्रमका जेष्ठ नागरिक र कैदीबन्दीहरूलाई पनि खोप लगाइसकिएको छ । लक्ष्यअनुसार नै खोप लगाउन सफल भएको निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए ।
अब दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ । यो चरणमा सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई खोप दिइनेछ । यसका लागि कर्णाली प्रदेशमा पनि तयारी थालिएको छ । निर्देशनालयका अनुसार अहिले तथ्याङ्क संकलन गरी संघीय सरकारलाई पठाउने काम भइरहेको छ । खोेप लगाउन जोखिम समूहको प्र्राथमिकता निर्धारण गरी तथ्याङ्क संकलन गरिएको हो ।
संघीय सरकारले सार्वजनिक सेवा प्रदायक कार्यालय तथा संस्थाहरूमा कार्यरत कर्मचारीको विवरण पठाउन भनेको थियो । सोही अनुसार जिल्लाहरूले कर्मचारीको विवरण निर्देशनालयलाई बुझाएका छन् । दोस्रो चरणको खोप मुख्यगरी सार्वजनिक सेवा प्रदायक निकायमा कार्यरत कर्मचारीहरुलाई दिइनेछ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालयहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी (बिओपी खटिएका), मालमोत, नापी, विद्युत, खानेपानी, यातायात, टेलिकम तथा कार्यालय बैँकमा कार्यरत कर्मचारीले अब खोप दिन लागिएको हो । यसबाहेक अन्य वर्गलाई पनि छिट्टै खोपको दायरामा ल्याइने बताइएको छ ।
कर्णाली प्रदेशलगायत देशभर कोरोनाविरुद्धको खोप लगाउन यही माघ १४ गतेदेखि सुरू गरिएको थियो । भारत सरकारले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप अनुदानमा उपलब्ध गराएको थियो । संघीय सरकारले कर्णालीका लागि खोपको २६ हजार डोज पठाएको थियो । कर्णालीमा कोरोना संक्रमण देखिएको नौ महिनापछि खोप उपलब्ध भएको हो ।
प्रदेशमा ११ हजार सात सय ८१ जनालाई खोप लगाउने योजना भएपनि झण्डै दुई हजार कमलाई खोप लगाइएको थियो । कोरोनाविरुद्धको उक्त खोप एक जनालाई एक महिनाको अन्तरमा दुई पटक लगाउनुपर्छ । पहिलो खोप दिएको करिब एक महिनाको अन्तरमा अर्को खोप लगाइने निर्देशनालयले जनाएको छ । भारतबाट अनुदानमा आएको १० लाख डोज खोप पहिलो चरणको अभियानअन्तर्गत देशभर एक लाख ८४ हजार आठ सय ५७ जनालाई दिइसकिएको छ । यो जनसंख्यालाई पूर्ण खोप अर्थात दोस्रो डोजसम्म दिँदा तीन लाख ६९ हजार सात सय १४ डोज खपत हुनेछ । त्यसबाट बचेको खोप थप गरिएको वर्गलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब दोस्रो चरणको खोप अभियानमा सेवाप्रदायक संस्था, गाउँ/नगरका कर्मचारी तथा सेवाग्राहीको भिडभाड हुने कार्यालय र बैंकलगायतका संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई प्राथमिकताका आधारमा खोप लगाइने र यसका लागि संघीय सरकारले समय तोक्ने बताइएको छ । दोस्रो चरणमा ‘फ्रन्टलाइन’मा खटिने सुरक्षाकर्मी, यातायातकर्मी, हवाई यातायातमा कार्यरत कर्मचारी, बैंक, नापी, मालपोत, विद्युत्, खानेपानी र सञ्चारमा कार्यरत कर्मचारीलाई खोप लगाउने सूची सरकारले तयार गरेको छ ।
जोखिम ज्युँका त्युँ
कोरोना संक्रमणको जोखिम अहिले पनि टरिसकेको छैन । समुदायमा दैनिक कोरोनाका नयाँ संक्रमित भेटिने गरेका छन् । सरकारले यसअघि प्रदेशका दुई स्थानमा एन्टिजेन विधिबाट कोरोना परीक्षणसमेत गरेको छ । समुदायमा संक्रमणको अवस्था एकीन गर्न एन्टिजेन विधि अपनाइएको हो । यसक्रममा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लु नगरपालिकामा करिब तीन हजार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले संघीय सरकारको समन्वयमा यी दुई पालिकाको संक्रमणको अवस्था एकीन गरेको हो ।
निर्देशनालयका किटजन्य रोग नियन्त्रक अधिकृत श्याम आचार्यले परीक्षणको क्रममा करिब दुई प्रतिशतलाई कोरोना संक्रमण देखिएको बताए । दुल्लुमा दुई हजार र वीरेन्द्रनगरमा एक हजार पाँच सय जनालाई एन्टिजेन विधिबाट परीक्षण भएकोमा तीमध्ये दुई प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा कोरोना संक्रमणको जोखिम अझै पनि कायमै रहेको परीक्षणबाट खुलेको हो । अहिले पनि समुदायमा कोरोनाको जोखिम उस्तै छ भन्ने देखिएको स्वास्थ्यकर्मीहरूले बताउँछन् ।
पछिल्लो समय कोरोनालाई समान्य रुपमा लिएर स्वास्थ्य सुरक्षाका मापदण्ड तथा सावधानी अपनाउन छोडिएको छ । स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमणको जोखिम रहिरहेकाले सावधानी अपनाउनुुपर्नेमा जोड दिँदै आएका छन् । केही महिनायता लक्षण देखिएकाहरूलाई मात्रै परीक्षण गर्ने गरिएको छ । परीक्षणको दर घटेका कारण संक्रमितको संख्यामा भने कमी देखिएको छ ।
कोभिड नियन्त्रणमा सफल भएको दाबी
कर्णालीमा कोरोना संक्रमण रोगथाम तथा नियन्त्रणमा उल्लेखनिय उपलब्धी हासिल भएको सरकारी अधिकारीहरूको दाबी छ । प्रदेशमा हालसम्म संक्रमण नियन्त्रण, रोकथाम तथा प्रतिकार्यमा भएका कामको उपलब्धीबारे समीक्षासमेत गरिएको छ ।
स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावकाबीच पनि कोरोना नियन्त्रणमा एक हदसम्म सफल भएको चिकित्सकहरूले बताएका छन् । कोरोना रोकथाम, नियन्त्रणका लागि गरिएको कोभिड प्रतिकार्य प्रभावकारी भएको र यो समयमा स्वास्थ्य पूर्वाधारको समेत विकास भएको जनाइएको छ । यो अवधीमा कोभिड रोकथामका लागि प्रदेशका २७ वटा रणनैतिक स्थानमा चिकित्सक परिचालन, पूर्वाधार तथा प्रयोगशाला परीक्षणको विस्तार, नागरिकहरूमा रोगबाट बच्न जनचेतना अभिवृद्धिलगायतका काम भएका हुन् । उच्च जोखिम हुँदाहुँदै अन्य प्रदेशको तुलनामा कर्णालीमा कोरोना संक्रमितको संख्या न्यून हुनुले पनि नियन्त्रणमा उल्लेखनिय उपलब्धी भएको मान्न सकिने चिकित्सकहरू बताउँछन् । प्रदेशमा अझै पनि भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, खोप अभियान र अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता, गुणस्तरीय स्वास्थ्य सेवा र व्यवस्थापनमा जोड दिन आवश्यक रहेको सरोकारवालाहरूले आंैल्याएका छन् ।
प्रकाशित मितिः February 8, 2021 at 1:43 pm


कर्मसञ्चार । २०७७ माघ २६ गते सोमवार