काठमाडौंः निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे । ‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको छ । पार्टीअध्यक्षको नाम सन्ध्या तिवारी लेखिएको छ,’ उनले भने । तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि हाल नेकपा एमाले अस्तित्वमा छैन ।
झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतवार निवेदन परेको हो । उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको मंगलवारको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेता र कार्यकर्ताको संलग्नता रहे /नरहेकोबारे स्थायी कमिटीमा छलफल भएको बताए । ‘नयाँ पार्टी नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको छ । यसमा हाम्रो पार्टीको नेता कार्यकर्ताको संलग्न छ कि छैन भनेर छलफल भयो,’ प्रवक्ता श्रेष्ठले भने ।
बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो? भनि प्रश्न गरेका थिए । जवाफका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए । ‘गोपाल किराँतीको माओवादी केन्द्र दर्ता छ त । मैले त यो कसले किन दर्ता ग¥यो भनेर तपाईंलाई सोधेको छैन’, प्रधानमन्त्रीलाई उदृत गर्दै स्रोतले भन्यो । एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि नेकपा वृत्तमा खैलाबैला मच्चिएको छ । नेकपा नेताहरूले यसलाई गम्भीर रूपमा लिएका छन् ।
प्रकाशित मितिः June 30, 2020 at 7:52 pm























कर्मसञ्चार । २०७७ असार १६ गते मंगलवार