प्रदेश प्रमुखहरू पदमुक्त

काठमाडौं, १७ कात्तिक ।
सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्को निर्णय भएर सिफारिस भई आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको हो ।

पदमुक्त हुनेहरूमा प्रदेश–१ का प्रदेश प्रमुख प्रा. गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश–२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ की प्रदेश प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश–५ का प्रदेश प्रमुख उमाकान्त झा, कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गा केशर खनाल र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल हुन् ।

यी सबै प्रदेश प्रमुखहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रकाशित मितिः   November 3, 2019 at 6:52 pm 


  • प्रतिक्रिया दिनुहोस्