यो भ्वाङ टाल्न टेन्डर कहिले हुन्छ सरकार ? (कर्म फोटो क्याप्सन)

 

कर्म फोटो क्याप्सन
शब्द/तस्बीर–ईश्वर अधिकारी
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अगाडी बीच सडकमा परेको भ्वाङ । यही भ्वाङ तर्काएर दिनमा दर्जनौं पटक सरकारका सारथिहरूको सवारी हुन्छ । भौतिक पूर्वाधार मन्त्रालय मात्रै होइन यो खाल्डोका संघियार प्रदेश प्रमुखको कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सहरी विकास तथा भवन कार्यालय पनि हुन् । यी सबै कार्यालयलाई यहीँ आगँनको खाल्डोले डेढ वर्षदेखि कुरीकुरी गरिरहेछ !

प्रदेश राजधानी शहर वीरेन्द्रनगरका सडकमा मिटरपिच्छे देखिने यस्ता भ्वाङ र खाल्डाखुल्डीले प्रदेश र स्थानीय सरकारलाई जिस्काई रहेका छन् । जीर्ण सडकका कारण वीरेन्द्रनगरमा सवारी दुर्घटनाको जोखिम उच्च छ । तर, सरम मानेर टालटुल कसले पार्ने ? कि आँगनमा परेको सडकको एउटा भ्वाङ टाल्न पनि टेण्डरै गर्नुपर्ने हो सरकार ?

स्मरणः रहोस्, खर्च हुन नसक्दा कर्णालीबाट गत आर्थिक वर्षमा २२ अर्ब रूपैयाँ भन्दा बढी बजेट फिर्ता गएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयको मात्रै दुई अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खर्च गर्न नसकेर फिर्ता भएको हो ।

प्रकाशित मितिः   September 11, 2019 at 2:43 pm 


  • प्रतिक्रिया दिनुहोस्