
सगरमाथाको उचाई मापन गर्न जाने टोलीसँग प्रम ओली र मन्त्री अर्याल
काठमाडौं, २७ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज विदाइ गरेका छन्। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिँह भण्डारी र अमिन युवराज धिताल छन्।
टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए।
‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ’ ओलीले भने, ‘तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला।’
यो टोलीले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुने विश्वास पनि ओलीले दिलाए। प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिँदै मौसम र स्वास्थ्यमा भने ख्याल गर्न र गाइडको सुझावलाई मान्न प्रधानमन्त्रीले सुझाव दिए।
‘लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस्’ ओलीले भने, ‘सगरमाथा त्यहीँ रहन्छ, अहिले नसके अर्काे पटक गएर नापेर आए हुन्छ।’ सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको ओलीको कथन थियो।
सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको थियो।
कति लाग्नेछ लागत
सगरमाथाको उचाइ मापनकै लागि भनेर चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अध्ययनको सुरुवात चरणदेखि अन्तिमसम्मको यो रकम पर्याप्त हुने नापी विभागको भनाइ छ । सगरमाथा आरोहण दलका लागि भने ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसैगरी, खुम्बु क्षेत्रको ८ स्थानमा उचाइ मापन प्रक्रियाका लागि भने रकम तोकिएको छैन ।
यस कारण आवश्यक छ उचाइ नाप्न
सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । त्यसयता सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको छ । तर, तीन वर्षअघि गएको भूकम्पले सगरमाथाको उचाइ घटाएको भन्ने समाचार अन्तर्राष्ट्रिय रूपमा चर्चामा रह्यो । सोहीकारण पनि सगरमाथाको उचाइ पुनः मापन गर्न आवश्यक भएको हो ।
दोस्रोपटक पनि भारतीय नापी विभागले नै उचाइ मापन गर्न इच्छा देखाएको थियो । तर, नेपालभित्र विश्वको अग्लो शिखरको उचाइ आफैँले नाप्नुपर्ने दबाब आएपछि सरकार आफैँ अघि सरेको हो । सन् १९९९ मेमा अमेरिकन टोलीले जिपिएस प्रणालीबाट सगरमाथाको उचाइ नापेर थप दुई मिटर अग्लो रहेको जनाएको थियो । अहिलेको अध्ययनले सगरमाथाको उचाइबारे देखिएको विवादलाई आधिकारिक रूपमा समाधान गर्ने उचाइ मापन टोलीका संयोजक सुशील डंगोलले जनाए ।
यसरी नापिनेछ उचाइ
सगरमाथाको टुप्पोसम्म पुग्ने दुईजनाले उचाइ नाप्ने विशेष मेसिन जिएनएसएस साथमा लैजानेछन् । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम ९जिएनएसएस० मेसिनले उचाइको तथ्यांक संकलन गर्नेछ । उनीहरूले संकलन गरेको तथ्यांकलाई उचाइ मापनमा नै प्रयोग हुने आधुनिक प्रणालीबाट परिवर्तन गरिनेछ । सगरमाथा आधार शिविरमा रहने दुईजनाले आरोहणको समन्वय गर्नेछन् ।
त्यसैगरी, सगरमाथा क्षेत्रको कम्तीमा ८ स्थानमा लेबलिङ सर्भेका लागि स्थान छनोट गरी मेसिन राखिनेछ । लेबलिङ सर्भेले समुद्र सतहबाट कति उचाइ छ भन्ने तथ्यांक उपलब्ध गराउँछ । तर, सगरमाथाको उचाइसम्म मापन गर्ने प्रणालीले भने समुद्र सतहदेखिको उचाइ मापन नगरी जमिनको सतहबाट उचाइ मापन गर्ने संयोजक डंगोलले बताए ।
प्रकाशित मितिः April 10, 2019 at 12:46 pm


कर्मसञ्चार । २०७५ चैत्र २७ गते बुधवार