
वीरेन्द्रनगर–१४ गढीबाट देखिएको सुर्खेत उपत्यका ।
सुर्खेत, २१ माघ ।
सुर्खेत उपत्यकाभित्र पर्ने खेतीयोग्य जमिनमा कित्ताकाट र घरको नक्सापास रोक्का गरिएको छ । वीरेन्द्रनगर नगर कार्यपालिका बैठकले रत्न राजमार्गदेखि दक्षिण क्षेत्रमा घरको नक्सापाससमेत रोक्ने निर्णय गरेको हो ।
संघीय सरकारको भूमि व्यवस्था मन्त्रालयले पुस २७ गते जग्गाको खण्डीकरणसम्बन्धी पाँचबुँदे निर्देशनसहित वीरेन्द्रनगर नगरपालिकालाई परिपत्र गर्यो । पत्रमा केही समयदेखि रोक्का गरिएको जग्गा प्राविधिक समितिमार्फत अध्ययन गराई खुला गर्न सकिने आशय छ ।
वीरेन्द्रनगर नगरपालिकाले भने मन्त्रालयको उक्त परिपत्रपछि सर्वपक्षीय छलफल चलायो । निष्कर्ष निस्कियो– हाललाई सुर्खेत उपत्यकाभित्र पर्ने खेतीयोग्य जमिनमा कित्ताकाट र घरको नक्सापासखुला नगर्ने ।
यही निष्कर्षबमोजिम शुक्रबार बसेको नगर कार्यपालिका बैठकले रत्न राजमार्गदेखि दक्षिण क्षेत्रमा घरको नक्सापाससमेत रोक्ने निर्णय गरेको छ । स्थानीय सरोकारवाला नगरपालिकाको यो निर्णयलाई ‘वीरेन्द्रनगर बचाउने कदम’ भन्छन् । ‘कित्ताकाट खुलाउन जनप्रतिनिधिमाथि निकै ठूलो दबाब थियो, तर हामीले वीरेन्द्रनगरको भविष्यलाई मध्यनजर गर्दै रोक्का राख्ने निर्णय गर्यौं,’ वडा ९ का अध्यक्ष सुरेश मानन्धरले भने, ‘यो निर्णयबाट कुरूप बन्दै गएको वीरेन्द्रनगरलाई व्यवस्थित सहर बनाउन सहयोग मिल्ने अपेक्षा गरेका छौं ।’
वीरेन्द्रनगरले झेलेको समस्या

जिल्ला नापी कार्यालयका अनुसार पछिल्लो ४ आवमा मात्र जिल्लाभर १६ हजार ८ सय ५० कित्ता खण्डीकरण भएर ४१ हजार २ सय ५१ कित्ता बनेका छन् । जिल्ला नापी अधिकृत राजेन्द्र थापाका अनुसार यसरी कित्ताकाट भएकामध्ये करिब ७० प्रतिशत संख्या वीरेन्द्रनगर क्षेत्रको हो । ‘नगरपालिकाले १० वर्षअघि नै जथाभावी भइरहेको कृषियोग्य जमिनको प्लटिङ रोक्नुपथ्र्यो,’ उनी भन्छन्, ‘ढिलै भए पनि राम्रो काम थालनी भएको छ, यसले व्यवस्थित वीरेन्द्रगर बनाउन सघाउ पुर्याउला ।’
नगर प्रमुख देवकुमार सुवेदी सुर्खेत उपत्यकामा देखिएको खेतीयोग्य जमिनको बढ्दो प्लटिङ र गुरुयोजनाविपरीत बन्दै गएका संरचना निर्माण रोक्न यस्तो निर्णय गरिएको बताउँछन् । ‘जनप्रतिनिधिका रूपमा चुनिएर नगरपालिकामा आउनेबित्तिकै हामीले गुरुयोजनाविपरीत भइरहेको अव्यवस्थित सहरीकरणलाई रोक्न कदम चालेका थियौं,’ उनले भने, ‘अब यसलाई अझ कडाइसाथ लागू गर्न यस्तो निर्णय गरेका हौं ।’
अहिले सिंगो सुर्खेत उपत्यकाका साथै उपत्यकाबाहिरका रतु, जर्बुटा, गढी, साटाखानीसमेत नगरपालिका क्षेत्रभित्र परेका छन् । त्यसैले साबिकको गुरुयोजनालाई पुनरावलोन गर्दै नयाँ गुरुयोजना बनाउनुपर्ने धेरैको राय छ । गुरुयोजनाकार माथेमासमेत यसमा सहमत देखिन्छन् । ‘गुरुयोजना भनेको जनताको आवश्यकता र तात्कालिक अवस्थिति हेरेर दीर्घकालका लागि बनाउनुपर्छ,’ उनको भनाइ छ, ‘अब पुरानो गुरुयोजनाका आधारमा वीरेन्द्रनगरलेनयाँ बनाउनुपर्छ ।’
फर्किएला सुन्दरता ?
नगरपालिकाको पछिल्लो तथ्यांक केलाउने हो भने खेतीयोग्य जमिन कसरी ‘कंक्रिटमय’ बन्दै छ भन्ने स्पष्ट हुन्छ । नगरपालिकाका इन्जिनियर किशोर कँडेलका अनुसार आव ०७४/७५ मा ८ सय ३१ घरको नक्सापास भएकामा यो संख्या सबैभन्दा बढी दक्षिणी क्षेत्रमा पर्ने वडा ३, ९, १० र ११ मा छ ।
कान्तिपुरबाट























कर्मसञ्चार । २०७५ माघ २१ गते सोमवार