समृद्व चिंगाडको सपना

♦मदनप्रसाद शर्मा

नेपालको सन्तुलित विकाश गर्ने हेतुले मुलुक संघीय संरचनामा गएको छ । र, सात प्रदेश मध्ये कर्णाली प्रदेश पनि एक हो । यस प्रदेशमा हिमाल, पहाड र भित्री मधेसका जिल्लाहरु गरी १० वटा जिल्लाहरु रहेका छन् । यस प्रदेश अन्र्तगत दैलेख, जाजरकोट, रुकुम र सल्यान पहाडी जिल्लाहरुमा पर्दछन, भने सुर्खेत भित्री मधेसमा पर्दछ । बाँकी कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला हिमाली जिल्ला हुन् ।

कर्णाली भौगोलिक मात्रै होइन सामाजिक, आर्थिक र राजनीतिक रुपले पनि पछाडी छ । अझ भनौं, यो प्रदेश मानव विकासका सबंै सुचकांकमा पनि पछाडी देखिन्छ । विशेषगरी कर्णालीलाई गरिबी र भौगोलिक बिकटता भएको प्रदेशका रुपमा चिनिन्छ । सामाजिक कुरिती, अशिक्षा, अन्धविश्वास, जातिय भेदभाव, अभाबग्रस्त जीवनशैली गलत परम्परा, राजनैतिक कुन्ठाग्रस्त मानसिकताले यस प्रदेशमा बसोबास गर्ने मानिसहरुको चेतना स्तरमा पनि नराम्रो प्रभाब पारेको देखिन्छ ।
संघ तथा प्रदेश सरकारले थालेको विकाशका योजनाले निरन्तर गति लिन नसक्नुमा पनि सरकारको कमजोरी देखिन्छ, यँहा उपलब्ध जनशक्ती श्रोत र साधनको अधिकतम परिचालन गरी साँगुरो दुर्घटनामुखी धुले सडकको स्तरोनन्ती, संचार र स्वास्थ्य क्षेत्रको द्रुत विकाश गरी पर्यटकहरुको आर्कषण केन्द्रको रुपमा रहेका चांदिका घेराले सु–सज्जित कान्जिरोवा हिमाल सिस्ने हिमाललगायत अन्य हिमश्रृंखलाहरु, राराताल, ऋणमोक्ष दह, पापकुण्ड दह, छायानाथ दह, से–फोक्सुन्डो, बुलबुले ताल, स्यार्पु दह, रुक्मणी दह, कुपिन्डे दह, मानसरोबर, च्याखुरे लेक, काँक्रेविहार, देउती बज्यै जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरु छन् ।

यी रमणिय स्थानहरुसम्म सडक, संचार र स्वास्थ्य क्षेत्रको आवश्यक विकाश गरी प्रदेशका अन्य थुप्रै स्थानहरुसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सके यस प्रदेशको आर्थिक समृद्विमा केही हदसम्म टेवा पुग्ने देखिन्छ ।

त्यस्तै यस प्रदेशको हिमाली जिल्लाहरुमा पाउने यार्सागुम्बा, जटामसी पाँचऔले, सर्पगन्धा जस्ता अन्य थुप्रै बहुमुल्य जडिबटीहरु प्रशोधन गर्नसके प्रदेशको अर्को आम्दानीको स्रोत बढ्ने सम्ंभावना पनि उतिकै छ । दैलेख जिल्लाका बिभिन्न स्थानहरुमा खनिज पदार्थको संभावना रहेका स्थानहरुको उत्खनन गरी प्रयोगमा ल्याई निर्यात गर्न सके सिङ्गो राष्ट्रको आयस्रोतमा टेवा पुग्ने देखिन्छ, उत्तरतर्फ रहेको छिमेकी राष्ट्र चिनसंग जोडिएका नाकाहरु छिट्टै संचालन ल्याई आन्तिक राजस्व चुहावटमा नियन्त्रण गर्न सके यस प्रदेशको आयस्रोत पनि बृद्धि हुनेछ ।

प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा नौ स्थानीय तह छन् । उत्तरपूर्वी सुर्खेतमा अवस्थित साबिकको मटेला, रानिबास, रजेना, पाम्का र अवल्चिङ्ग गरी ५ वटा गा.बि.स. मिलाएर हाल चिङ्गाड गाँउपालिका बनाईएको छ । यो गाउँपालिकाको पूर्वमा सिम्ता गाउँपालिका, पश्चिममा दैलेखको गुराँस गाउँपालिका, उत्तर पूर्वमा जाजरकोटको शिवालय गाउँपालिका, दक्षिणमा लेकबेसी नगरपालिका र दक्षिणमा पश्चिममा बिरेन्द्रनगर नगरपालिका रहेका छन् । यो गाउँपालिका सुर्खेत जिल्लाको सबै भन्दा सानो गाउँपालिका हो, जसमा ६ वटा वडाहरु छन् ।
भौगोलिक रुपमा बिकट भएता पनि यहाँको हावापानी एकदमै राम्रो मानिन्छ । लाग्छ भौगोलिक हिसाबले यो गाउँपालिका सुर्खेत जिल्लाकै बिकट (दुर्गम) गाउँपालिकामा पर्दछ । ठूलठूला भिरपाखा, छाँगाछहरा, र अत्यन्त्तै सुन्दर झरनाहरु पनि यहाँ छन् । भौगलिक बिकटताका कारण यो अवस्थासम्म आईपुग्दा पनि यस गाउँपालिकासम्म सडक, संचार, स्वास्थ्य र शिक्षाको राम्रो ब्यबस्था भएको छैन, केही रुपमा बिस्तार भएका सडक, संचार, स्वास्थ्य, विद्युत् र शिक्षाका सुविधा पनि मौसमे खेती जस्तै भएका छन । देशले तिन तहको निर्वाचन गरी जनप्रतिनिधि निर्वाचित भई नेतृत्व सम्हालेको एक वर्ष बितिसक्दासमेत विकास निर्माणले गति लिन सकेको छैन ।
यो गाउँपालिकामा बासिन्दा गरिबी, रुढीबादी र पछौटेपनबाट पिल्सिएका छन् । यहाँ खेतीयोग्य जमिन भएतापनि सिंचाई अभाबका कारण खेतीको लागि आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ । यस क्षेत्रमा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, फापर, जौ र जुनेल जस्ता अन्य पहाडी खेतीहरु पनि बर्षामा निर्भर हुने गर्दछन्, । यि बाहेक कृषकहरुको जिविकोपार्जनका लागि बेमौसमी खेती तथा नगदे बालीको खेती गर्नको लागि सिंचाईको विकास हुन जरुरी देखिन्छ । यहाँको प्रकृतिले हामीलाई विकटता मात्र होईन धेरै अवसर पनि दिएको छ । अग्ला–अग्ला टाकुरा, छाँगा छहरा, गुफा र मनै लोभ्याउने झरनाहरुको विवेकपुर्ण तवरले प्रयोग गर्नसके प्रशस्त अवसर पनि हुनेछन् । चिङ्गाड गाउँपालिकाको वडा नं. ४ स्थित गुराँसे झरनाको ठिक उत्तरतर्फ रहेको ‘मालिका’ सुर्खेतको सबैभन्दा अग्लो चुचुरो हो । यो चुचुरोसम्म सडक पु¥याउन सके बाह्य तथा आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने र यसले गाउँपालिकाकै समृद्धिमा टेवा पुग्ने देखिन्छ । यसको पहिचान र चर्चा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अपेक्षा गर्न सकिन्छ ।

चुचुरामा हिउ पर्दा देखिने रमाईलो दृष्य यसको अर्को आर्कषक पक्ष पनि हो । यस चुचुरोको आसपास क्षेत्रको जंगलमा पाइँने सेतबोक्रा र बाबियो जो नेपाली कागज बनाउन प्रयोग गरिन्छ भने तितेखर, हर्रो, बर्रो, अमला अन्य थुप्रै बनस्पती तथा जडिबुटी आयुर्वेधिक औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । टिमुर, अल्लो अलैचीको खेती गरी निर्यात गरे यस गाँउपालिकाको बेरोजगारी समस्या सहजै हल हुने देखिन्छ । स्थानीय तहमै आधुनिक खेती प्रणाली तथा स्वरोजगारमुलक तालिम प्रदान गर्न सके विदेशीने युवाहरुको संख्या कमि हुनेछ भने अर्कोतर्फ रोजिरोटीका लागि प्रदेशिनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
यो चुचुरामा सदियौंदेखि काठ र ढुङ्गाबाट निर्माण गरिएको मन्दिर छ । जुन मालिका बज्यैको नामले प्रसिद्व छ । मालिका बज्यैको मन्दिर धार्मिक र ऐतिहासिक रुपले पनि उत्तिकै परिचित छ । यहाँ प्रत्येक वर्ष श्रावण शुक्लपक्षको पुर्णिमाको दिन अर्थात् ऋषी तर्पणि (रक्षा बन्धन ) मा धुमधाम मेला लाग्ने गर्दछ । ऋषी पुर्णिमाको अघिल्लो दिन चर्तुदशी वा पुर्णिमा ब्रत बसेका भक्तजनहरु चर्तुदशीतिथिका दिन आएर वर्ष भरिका आफ्ना सबै दुःख टाढा होउन, एक वर्षसम्म कुनै कष्ट भोग्न नपरोस् भन्दै भजन कृतन गरी बत्ती बाली मनले चाहेको पुरा होस भनी आशिष माग्दै जागराम बस्ने गर्दछन् ।

मन्दिरमा चर्तुदशी तिथिका दिन बत्ती बाल्नको लागि दैलेख जिल्लाको कट्टी, बांसे, मनघर,पगनाथ,जाजरकोट जिल्लाको थालारैकर, सिमा, जुँगाथापाचौर, साल्मा र सुर्खेतको मटेला, रानीबास, अवलचिङ्ग पाम्का र रजेनाबाट भक्तजनहरुको ओइरो लाग्ने गर्दछ भने अर्कोतिर बृद्दबृदाहरु मालिका बज्यैका भक्ति भजन गाएर र युवायुवतीहरु लोकदोहरी भाकामा नाच्ने रमाउने गर्दछन । यो दिन गाउँदा गाउँदै नाच्दा नाच्दै युवायुवती एक आपसमा बैबाहिक सम्बन्धमा गासिन पनि पुग्दछन । जब बिहानीमा सूर्यले लाली छाउँछ, त्यसपछि वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा आस्था राख्ने भक्तजनहरुले वैदिक मन्त्र उच्चारण गरी आफुले बालेका बत्तीहरु नजिकैको तिर्थ वा जलाशयमा गई सेलाउँछन् अनि स्नान गरेर ब्राहमणद्वारा अभिमन्त्रित जनै परिवर्तन गरेर मात्र ध्यान जप गर्ने गरिन्छ ।
सप्तऋषिहरुको पुजा गरी बैदिक मन्त्रद्वारा अभिमन्त्रित रक्षाबन्धन पनि बाध्ने गर्दछन् । उक्त दिन मन्दिरका पुजारी अर्थात ब्राहमणले

(येन बद्दो बली राजा दानबेन्द्रो महाबल ।)
(तेन त्वां प्रतिबन्ध्नामि रक्षे मा चल मा चल ।।)

मन्त्र उच्चारण गर्दै रक्षाबन्धन वा राखी सबै भक्तजनहरुको हातमा बाँधी आर्शिवाद दिने गर्दछन् । मालिका बज्यैको मन्दिरलाई पर्यटकीय स्थल बनाउन सके यस मन्दिरको महत्व अझै बढ्ने देखिन्छ । सुःख शान्ति समृद्वि र अमृतत्वको प्राप्ती मानिसको प्रमुख लक्ष्य भएको हुँदा एउटै मन्दिरमा यज्ञ यज्ञादि पुजा अर्चान गर्ने भक्तजनहरुले पनि फरक फरक किसिमले अर्चना गरेको भेटिन्छ । पण्डित वा पुजारीहरु केही नबोलि एकोहोरो पाठ । पुजा मात्र गराउँछन् भने भक्तजनहरु आफ्नो मन, बिचार भावना शुद्व बनाई मनोकानना पुरा होस् भन्दै एकाग्र भएर ध्यान गरिरहेका हुन्छन । यस दिन गरेको पुजाआजाले वर्षभरी कुनै कष्ट नहोस्, दुःख भोग्न नपरोस्, सुख शान्ति होस्, कुनै दैवी घटनामा पनि मालिकाले रक्षा गरुन भनि गाईको दुधको धार मालिका लाई चढाउने प्रचलन रहि आएको छ । यो मेला धार्मिक दृष्टकोणले पनि महत्वपुर्ण मानिन्छ ।
अष्टमीको दिन मास, मुगी, चना, भटमास केराउ आदि गेडागुडी भिजाएर राखी पुर्णिमाको दिन पकाएर रससहित खानाले बर्षाको सर्दी हट्छ भन्ने मान्यता पनि रहि आएको छ । धर्म तथा संस्कृतिको संरक्षण सम्बर्द्वन र जर्गेना गर्नु हामी सबैको कर्तव्य तथा अधिकार पनि हो । मनुष्य जीवन लिएर जन्मेको जन्म भुमी, जन्मदिने माता, कुलवंश धर्मको रक्षा गर्न सकिएन भने आफ्नो जीवनको सार्थकता रहदैन । अतः बर्तमान अवस्थामा हामी सबै मिलेर धर्म र संस्कृति बचाउनको लागि आ–आफ्नो क्षेत्रबाट बिशेष जोडदिनु पर्दछ अन्त्यमा हामी वरपर रहेका तर संचार र विकासको अभाबले प्रचारमा आउन नसकेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरुको पहिचान गराउन सके समृद चिङ्गाडको सपना साकार हुने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मितिः   August 23, 2018 at 7:29 pm 


  • प्रतिक्रिया दिनुहोस्