सुर्खेत, २२ माघ ।
सरकारले यूएईविरुद्धको एकदिवसीय र टि-२० शृंखला जितेका नेपाली क्रिकेट खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप) सिफारिसमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले जानकारी दिए। उनका अनुसार सरकारले एक कार्यक्रमकाबीच उक्त पुरस्कार दिनेछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध इतिहासमै पहिलो एकदिवसीय र टि-२० शृंखला जितेको थियो। सोमबार नेपाल फर्किएको टोलीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्यसचिव केशबकुमार विष्ट तथा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए।
यूएईविरुद्धको दुवै शृंखला नेपालले समान २-१ले आफ्नो पक्षमा पारेको थियो। यूएईविरुद्ध खेल्ने नेपाली टोलीमा पारस खड्का (कप्तान), अभिनाश बोहोरा, वसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा र भिम सार्की रहेका थिए।
प्रकाशित मितिः February 5, 2019 at 5:47 pm













कर्मसञ्चार । २०७५ माघ २२ गते मंगलवार