
सुर्खेत, ४ माघ ।
एक दशक अघि अलपत्र अवस्थामा रहेको वीरेन्द्रनगर ४ खोर्केखोला स्थित जिरोड्याम नजिकको पक्की पुलको भग्नावशेषमा काठेपुल बन्ने भएको छ । वीरेन्द्रनगर–४ को भैरम सामुदायिक वन र वडा नं. ५ को रामजानकी सामुदायिक वन उपभोक्ता समूहले अलपत्र अवस्थाको पुलको भग्नावशेषमा काठेपुल बनाउने भएका हुन् ।
काठेपुल निर्माण भएपछि खोर्केखोलादेखि चिसापानीसम्म आउजाउ गर्न सहज हुनेछ । यही माघको महिनाभित्र काठेपुल बनाउने दुई सामुदायिक वनले सहमति जनाएका छन् । शुक्रवार दुवै सामुदायिक वन उपभोक्ता समूहवीच भएको छलफलमा खोलामा पहिले नै निर्माण भएको पर्खालमाथि काठको पल्ला र वारहरु हालेर काठेपुल बनाइनेछ ।
भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले दुवै वनले पुलका लागि आवश्यक पर्ने काठहरु उपलव्ध गराउने सहमति भएको बताए । उनका अनुसार पुलसम्म पुग्नका लागि बाटो र खाल्डाखुल्डी पुर्नका लागि वडा नं. ४ र वडा नं. ५ लाई आग्रह गरिनेछ । अहिले उक्त स्थानमा पुल नहुँदा खोर्के खोलामा पैदल हिंडेर वार पार गर्नुपर्ने अवस्था छ ।
काठेपुल यात्रुका साथै मोटरसाइकलसम्म हिंडाउन मिल्ने खालको बनाउने लक्ष्य लिइएको अध्यक्ष कार्कीले बताए । हाललाई काठेपुलबाट काम चलाइने र आगामी बर्ष पक्की पुल बनाउन पहल थालिने वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनालले बताए । पक्की पुल बनाउन कसैको ध्यान नपुग्दा अहिलेसम्म पनि सो स्थानमा पक्की पुलको संरचना अलपत्र छ । बर्षा याममा आउजाउ गर्न खोर्केका बासिन्दाहरु रातोपुल आउनुपर्ने बाध्यता छ ।
प्रकाशित मितिः January 18, 2019 at 3:56 pm


कर्मसञ्चार । २०७५ माघ ४ गते शुक्रवार