नेपाली महिला क्रिकेट टोली फाइनलमा

काठमाडौं, ४ माघ ।

थाइल्यान्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा अपराजित रहेकाे नेपाली महिला टोली शुक्रबार इन्डाेनेसियालाई फराकिलो रन अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ।

इन्डोनेसियाविरुद्ध ९२ रनको कीर्तिमानी विजय हात पार्दै नेपाली महिला टोलीले फाइनलमा स्थान निश्चित गरेको हो। अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा नेपाली महिला टोलीले पाएको यो सबैभन्दा ठूलो रन अन्तरको सफलता हो।

इन्डोनेसियाली टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर सीता राना मगरले ४८ रन बनाइन्। इन्दु बर्माको ३७ रन बनाइन् भने काजल श्रेष्ठको १४ रनको योगदान रह्यो। २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनायो।

१२० रनको लक्ष पाएको इन्डोनेसिया नेपाली बलर सामु निरीह सावित भयो। ११.१ ओभरमा २७ रन बनाउँदा इन्डोनेसियाली महिला टोली अल आउट भयो। कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् भने कविता कुँवर, नेरी थापा, सीता राना मगर र सरिता मगरको पोल्टामा एक एक विकेट पर्यो। नेपालले फाइनलमा युएई र थाइल्यान्डको विजताको सामना गर्नेछ।

 

प्रकाशित मितिः   January 18, 2019 at 3:05 pm 


  • प्रतिक्रिया दिनुहोस्