काँक्रेविहार पुनर्निर्माणमा ढिलाइ

सुर्खेत, ३ असार ।
पर्यटकीयस्थल काँक्रेविहारको पुनर्निर्माण सुस्त गतिमा भइरहेको छ । २०७२ असारदेखि निर्माण कार्यादेश पाएको काठमाडौंस्थित सिद्धबाबा कन्स्ट्रक्सन प्रालिले पुनर्निर्माणमा विभिन्न बहाना बनाउँदै ढिलाइ गरेको हो ।
पुरानो स्वरूप यकिन नभए पनि भग्नावशेषबाट प्राप्त ढुंगा–मूर्तिलाई जोडेर पुरातत्व विभागले ०७२ असारदेखि पुनर्निर्माण थालेको थियो । तोकिएको अवधिसम्म निर्माण सम्पन्न गर्न नसकेपछि कम्पनीले पुरातत्व विभागसमक्ष थप समय मागेको थियो । कम्पनीको आग्रहअनुसार विभागले गत आर्थिक वर्षको चैत मसान्तसम्मका लागि थप म्याद दिएको थियो । तर, काँक्रेविहारको निर्माण सम्पन्न गर्नुपर्ने समयावधि भन्दा एकवर्ष बढी समय बितिसक्दा समेत सम्पन्न भएको छैन ।
पुनर्निर्माणको २० प्रतिशत काम अझै बाँकी छ । पुनर्निर्माणमा अनावश्यक ढिलाइ हुँदा पर्यटकीय आकर्षण घट्न पुगेको स्थानीयको गुनासो छ । यसको पुनर्निर्माणमा सरोकारवाला निकायबाट लापरबाही हुँदै आएको स्थानीयको भनाइ छ ।

शिखर शैलीको मन्दिर निर्माण गर्न लागिएको काँक्रेविहार ९ करोड ६५ लाख ६६ हजार ६ सय ४१ रुपैयाँ लागतमा लागतमा पुनर्निर्माण भइरहेको छ ।

पुनर्निर्माणसम्बन्धी परियोजना पुरातत्व विभागले सञ्चालन गर्दै आएको छ । भक्तपुरका कालिगढले ढुंगा कुँद्ने काम गर्दै आएका छन् । पुनर्निर्माण ढिलाइ हुँदा कलात्मक ढुंगा–मूर्ति यत्रतत्र छरिएका छन् ।

केही तथ्यले सिञ्जा साम्राज्यका राजा अशोक चल्लले विसं १३२५ मा काँक्रेविहार निर्माण गरेको जनाएको छ । पुरातत्वले वीरेन्द्रनगरको दक्षिणमा अवस्थित पुरातात्विक सम्पदा काँक्रेविहारको १८ वर्षअघिदेखि उत्खनन सुरु गरेको हो । उत्खननपछि बुद्धका साथै सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्रा फेला परेका छन् । हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले यसलाई उत्तिकै श्रद्धा गर्ने गर्छन् । त्यसैले बुद्धमूर्ति प्रतिस्थापन गर्ने विषयमा यहाँ हिन्दु–बौद्धबीच विवाद उत्पन्न भएको थियो । विवादकै कारण प्रतिस्थापन हुन नसक्दा उक्त मूर्ति जिल्ला प्रहरी कार्यालयको हातामा राखिएको छ ।
मन्दिर निर्माणपछि आन्तरिक तथा बाहय पयर्टकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । बौद्ध संस्कृतिका जानकारहरूका अनुसार पुरानै शैलीमा बन्ने मन्दिरले काँक्रेविहारको मात्र नभई समग्र कर्णाली प्रदेशकै गौरव बढाउनेछ । अग्लो डाँडामा निर्माण हुन लागेको शिखरशैलीको मन्दिरबाट सुर्खेत उपत्यकाका विभिन्न स्थानहरूको दृश्यावलोकन गर्न सकिनेछ । हाल काँक्रेविहारमा दैनिक सरदर ८० जना आन्तरिक तथा बाहय पर्यटकले अवलोकन गर्ने गरेको तथ्यांक छ ।

प्रकाशित मितिः   August 1, 2018 at 1:05 pm 


  • प्रतिक्रिया दिनुहोस्