
प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बालिका ।
सुर्खेत, ३ मंसिर ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकालाई जन्म दिएकी छन् ।
रास्कोट नगरपालिका–५, कालिकोटका २८ वर्षीया ललिता बुढाले आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । शनिबार प्रदेश अस्पतालमा भर्ना भएकी ललिताको शल्यक्रियाबाट बच्चा निकालिएको बालरोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिए । बालिकाको तौल ३ किलो ६०० ग्राम छ ।
आमाको अवस्था सामान्य छ। जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु जोडिएको हुनसक्ने अनुमान गरिएको छ । सोमबार भिडियो एक्सरेपछि मात्र त्यसबारे पत्ता लाग्ने डा. केसीले बताए । एक्सरेपछि उनीहरूको शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया सफल हुनसक्ने केसीले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा. राजिव शाहको नेतृत्वमा डा. रवीन खातुङ, डा. महेश पौडेल र शल्यक्रिया कक्षमा रहेकी नर्स विनिता बस्यालसहितको चिकित्सक टोलीले शल्यक्रिया गरेर जुम्ल्याहा बालिकालाई जन्म दिइएको हो ।
ललिताका पति बिर्खबहादुर बुढाले उनलाई चार दिनसम्म कालिकोट अस्पतालमा राखेका थिए । जिल्ला अस्पतालले त्यहाँ बच्चा जन्माउन नसकिने अवस्था रहेको भन्दै प्रदेश अस्पताल रेफर गरेको उनले बताए । ’लामो समयसम्म बेथाले च्यापेकी श्रीमती र बच्चालाई सकुशल देख्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।
उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सक टोलीलाई धन्यवाद दिँदै बालिकाहरूको जीवन बचाइदिन सरकारसँग सहयोगको आग्रह पनि गरेका छन् ।
प्रकाशित मितिः November 19, 2018 at 2:39 pm













कर्मसञ्चार । २०७५ मंसिर ३ गते सोमवार