मेयर सा’प ! गरिबका टहरा भत्काएको धनीले सडकमा जेनेरेटर राख्न हो ?

देउती अस्पतालले सडक अतिक्रमण गरेर राखेको जेनेरेटर ।

सुर्खेत, ४ माघ ।
वीरेन्द्रनगर नगरपालिकाले गत वैशाख र जेठ महिनामा सडक अतिक्रमण हटाउन नगरभित्र डोजर चलायो । प्रदेश राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित बनाउने अभियानमा यहाँका बासीन्दाले पनि नगरपालिकालाई साथ दिए ।

तर, विपन्न परिवारले सडक छेउमा जीविकोपार्जन गर्न बनाएको घुम्टी र टहरामा डोजर चलाएर उनीहरुको रोजिरोटी खोसेको नगरपालिकाले बजार क्षेत्रमा शक्तिको आडमा सडक कब्जा गरेर बसेका व्यक्तिहरुलाई भने हल्लाउन सकेको छैन ।

नगरपालिकाले पहुँच नभएका गरिबलाई मात्रै हटाएको भन्ने आरोप स्थानीयले लगाउँदै आएका छन् । बजार क्षेत्रका ‘ठूला’ भनिने व्यवसायीहरुले गरेको सडक अतिक्रमणले त्यसको पुष्टि पनि गरेको छ । वीरेन्द्रनगर–६ बुद्धपथस्थित देउती अस्पताल प्रालिले महिनौंदेखि सडकमै जेनेरेटर राखेको छ । जसले गर्दा सवारी आवागमनमा अवरोध हुँदै आएको छ । तर, नगरपालिकाले भने अस्पतालले सडक नै ओगटेर जेनेरेटर राखेको नदेखे झै गर्दै आएको छ ।

जेनेरेटरका कारण सडक अवरोध हुँदा जाममा परेका सवारी साधन ।

कर्म सञ्चारको यसबारेको जिज्ञाशामा वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतिप्रसाद कंडेलले देउती अस्पतालले सडक अतिक्रमण गरेर जेनेरेटर राखेको बताए । ‘वडा कार्यालयले पत्राचार गरिसकेको भएपनि उहाँहरुले अटेर गर्नु भएको छ,’ कंडेलले भने, ‘अटेर गरिराखे सडकमा राखेको जेनेरेटर वडा कार्यालयले नै १/२ दिनमै हटाउँछ ।’ सडक अतिक्रमण गरेर समाग्री नराख्न बारम्बार पत्राचारसहित अनुरोध गरेपनि अस्पताल सञ्चालकले बेवास्था गर्दै आएको उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा कसैलाई पनि फूटपाथ अतिक्रमण गर्न नदिने प्रतिवद्धता जनाउने गरेका छन् । उनले आफूहरु नगरलाई समृद्ध बनाउने महत्वाकांक्षी योजनासहित अघि बढेको भन्ने गरेपनि सडक नै कब्जा गरेर नगरपालिकालाई चुनौती दिने व्यवसायीलाई भने ठेगान लगाउन सकेका छैनन् । बजारमा मापदण्डभन्दा बाहिर परेको खण्डमा घर, भवन वा अन्य जस्तोसुकै संरचना भए पनि हटाइने बताएको नगरपालिकाको नजर यता पनि पर्ने की ? मेयर सा’प ! की जसले जे गरेपनि हुने हो ?

 

सम्बन्धित समाचार–ः

https://karmasanchar.com/2018/08/896/

 

 

प्रकाशित मितिः   January 18, 2019 at 2:38 pm 


  • प्रतिक्रिया दिनुहोस्