कञ्चनपुरका सीडीओ र एसपी फेरिए

काठमाडौं, ७ भदौ ।
गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो । मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको छ । उनको ठाउँमा कुवेर कठायतलाई पठाउने तयारी रहेको छ । मन्त्रालयले कञ्चनपुरमै कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठीको पनि सरुवा गरेको छ ।
यसैबीच, गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह(सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलाई लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलाई सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए । बिहीबारै मात्रै आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मितिः   August 23, 2018 at 6:12 pm 


  • प्रतिक्रिया दिनुहोस्