सुर्खेत, २९ साउन ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच औपचारीक एकता भएको झन्डै तीन महिना भइसक्दा समेत सुर्खेतमा भने पार्टी एकताको झल्को अझै देखिएको छैन ।
पूर्व एमाले र पूर्व माओवादीका नेताको कार्यालय र सम्पर्क स्थान मात्र होइन चिया चौतारोसमेत छुट्टाछुट्टै छ । गत जेठ ३ गते औपचारिक रूपमा पार्टी एकता भएको थियो । पार्टी एकीकरण पछि ‘होर्डिङ बोर्ड’मा मात्रै परिवर्तन भएको छ ।
एमाले कार्यालयको बोर्डमा एमाले मेटाएर नेपाल कम्युनिष्ट पार्टी राखिएको छ भने माओवादी कार्यालयको बोर्डमा शहिद स्मृति भवन मात्रै लेखिएको छ । दुवै पार्टीका कार्यालय पूर्ववत् आ–आफ्mनै ठाउँमा छन् ।
तत्कालीन एमालेको कार्यालयमा पूर्व माओवादी नेता पुग्दैनन् भने तत्कालीन माओवादीको कार्यालय रहेको स्थानमा पूर्व एमाले नेता पनि पुगेका छैनन् । २०७४ असोज १७ गते पार्टी एकता गर्ने निर्णय गरेर एमाले र नेकपा माओवादी प्रदेश र संघको निर्वाचनमा होम्मिएका थिए ।
पार्टी एकीकरण भएपनि भावनात्मक एकता अझै हुन नसकेको नेकपाका नेता÷कार्यकर्ता बताउँछन् । ‘अहिले नेता कार्यकर्ता सबैमा एक खालको अन्यौल छ । पार्टी कार्यालय पूर्ववत् तरिकाले नै सञ्चालन भइरहेका छन्,’ कर्म सञ्चार डट कमसँगको कुराकानीमा नेकपा सुर्खेतका नेता ऋषि गिरिले भने, ‘प्रदेश र जिल्ला कमिटीको टुंगो लागेर बैठक बस्न थाले भावनात्मक एकता झल्किएला ।’
गत निर्वाचनदेखि एक भएर हिडिसकेकाले भावनात्मक रुपमा पनि एक हुन त्यत्ति लामो समय नलाग्ने उनले बताए । ‘केही प्राविधिक विषयहरू बाँकी छन्,’ नेता गिरिले भने, ‘केही दिनभित्रै एकताको झल्को देखिनेछ ।’
संगठनात्मक समायोजन ढिला हुँदा यस्तो देखिएको नेकपा नेता कृष्ण जिसी (जितेन्द्र) ले बताए । ‘कुनै नेतृत्वको विमतिले यस्तो भएको हैन । अझै पनि पूर्ण अस्थित्वमा रहेका कमिटीहरु छन्,’ पूर्व नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष समेत रहेका उनले भने, ‘संगठनात्मक समायोजन भयो भने एकता अवश्यै झल्किनेछ ।’
पार्टी कार्यालयहरू फरक–फरक ठाउँमा भएपनि फरक अस्थित्वसहित काम कार्वाही नभएको उनले दाबी गरे । नयाँ संरचना स्थापित भए पार्टी पद्धतिअनुसार चल्ने र भावनात्मक रूपमा एक हुन सहज हुने उनको भनाइ छ । यतिबेला काठमाडौंमै रहेका जिसीले जिल्ला कमिटीको हकमा नाम प्रस्ताव गर्न छलफल भइरहेको बताउँदै बिहीबारसम्म नाम बुझाइसक्ने जानकारी दिए ।
यस्तै, नेकपा कर्णाली प्रदेश कमिटीका लागि कार्यदलले १ सय ७५ सदस्यीय कमिटीको नाम प्रस्ताव गरिसकेको छ । प्रदेश कमिटीहरुको एकीकरणका लागि प्रत्येक प्रदेशमा तत्कालिन एमालेका संयोजक-सहसंयोजक र तत्कालीन माओवादीका इन्चार्ज-सहइन्चार्ज रहेको कार्यदल बनेको थियो ।
उक्त कार्यदलले प्रदेश कमिटी एकीकरणका लागि नाम प्रस्ताव गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण सम्पन्न गरिसक्नुपर्ने तथा भदौ १५ गतेभित्र जनवर्गीय संगठनका केन्द्रीय कमिटीको एकीकरण गरी पहिलो बैठक बस्नुपर्ने सर्कुलर जारी गरेको छ ।
प्रकाशित मितिः August 14, 2018 at 9:26 pm























कर्मसञ्चार । २०७५ साउन २९ गते मंगलवार