नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै

काठमाडौं, १६ पुस ।

नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ । प्रहरीले बन्दोबस्तीका सामान फिर्ताका लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ । हाल हाइटीको एफपियू मिसनमा १ सय ४० प्रहरी खटिएका छन् ।

हाइटीमा द्वन्द्व समाधानउन्मुख भएकाले राष्ट्रसंघले शान्ति सेनालाई कटौती गर्दै लगेको हो । सोहीअनुसार यसअघि नै ‘अनपोल मिसन’अन्तर्गत कोटा कटौती भइसकेको छ । क्यारेबियन देश हाइटीमा सन् २००४ देखि शान्ति स्थापनार्थ नेपाल प्रहरीको टोली खटिँदै आएको छ । एफपियू हाइटीमा हालसम्म तीन हजार ७० प्रहरीले काम गरिसकेका छन् । हाइटी र सुडानमा गरी नेपाल प्रहरीका दुईवटा मात्र एफपियू मिसन छन् । हाइटी बन्द भएपछि सुडान मिसन मात्र हुने भएकाले राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर प्रहरीका लागि कम हुने भएको छ । शान्ति मिसन प्रहरीका लागि आकर्षक मानिन्छ ।

सामान खरिद गर्न नसक्दा गुम्यो मिसन 
राष्ट्रसंघले तीन वर्षअघि नै नेपाल प्रहरीलाई नयाँ एफपियू मिसन दिने प्रस्ताव गरेको थियो । त्यसका लागि बन्दोबस्तीका सामान खरिद गर्न भनिएकोमा प्रहरीले खरिद गर्न सकेन । बरु पुरानै गाडीलगायत सामानलाई नयाँजस्तो बनाएर देखाएपछि निरीक्षणका लागि आएका राष्ट्रसंघका अधिकारीले नेपाल प्रहरीका सट्टा अन्य देशको प्रहरीलाई लिएका थिए । सुडान भ्रष्टाचार प्रकरणपछि नेपाल प्रहरीले समयमा सामान किन्न सकेको छैन । सोही कारण शान्ति मिसनको अवसर पनि गुमाउँदै गएको छ ।  देशले नै राष्ट्रसंघमा लबिङ गर्न नसक्दा आफूहरूले मिसन नपाएको प्रहरी अधिकारीहरूको गुनासो छ । प्रहरी नेतृत्वबाट पनि यसका लागि पर्याप्त पहल हुन सकेको छैन ।  जब कि सशस्त्र प्रहरी बललाई भने राष्ट्रसंघले नयाँ एफपियू मिसन दिने तयारी गरेको छ । सशस्त्र प्रहरीका हाल दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छन् । तेस्रो एफपियूका लागि सशस्त्रले सामानसमेत खरिद गरिसकेको छ । देश मात्र तोकिन बाँकी छ ।

कंगो मिसनमा माग बढ्यो 
इन्डिभ्युजल पुलिस अफिसर (आइपिओ)अन्तर्गत भने राष्ट्रसंघले कंगोमा नेपाल प्रहरीलाई अवसर दिएको छ । हालै दुई प्रहरी अधिकारी कंगोमा खटिएकोमा थप १२ जना माग गरेको छ । तर, कंगोमा खटिनका लागि फ्रेन्च भाषा जानेको हुनुपर्छ ।  कंगोमा खटिएका डिएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडा त्यहाँको परीक्षामा सफल भएका छन् । कंगोका लागि राष्ट्रसंघबाट थप प्रहरी माग भएको र उनीहरूको परीक्षा भइरहेको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए ।  अनपोल मिसनमा जान युएन स्याट परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । करिब दुई वर्षअघिको स्याट परीक्षामा उत्तीर्ण भएका करिब सय प्रहरी अझै मिसनमा जान पाएका छैनन् । विगतको तुलनामा अनपोल कोटा पनि कम हुँदै गएकाले परीक्षा उत्तीर्ण गरेकाहरू पनि जान नपाउने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मितिः   December 31, 2018 at 3:28 pm 


  • प्रतिक्रिया दिनुहोस्