
सुर्खेत, २८ मंसिर ।
आगामी तीन वर्षे नेतृत्वका लागि भोली (शनिबार) हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस निकट व्यवसायी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट संयुक्त उद्योगी – व्यवसायीहरुको प्यानल व्यवसायीक हक हितका लागि काम गर्ने विभिन्न प्रतिबद्धतासहित चुनावी प्रचारमा जुटेको छ ।
संघका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रकाश उप्रेतीले नेतृत्व गरेको उक्त प्यानलले आफूहरु विजयी भए व्यावसायीक हित प्रवद्र्धन, व्यवसायीक सुरक्षा, संस्थागत विकास र औद्योगीक व्यवसायीक विकास गरिने प्रतिबद्धता व्यक्त गरेको हो ।
व्यवसायीको हितका लागि महत्वाकांक्षी प्रतिबद्धतासहित निर्वाचनमा होमिएका अध्यक्षका उम्मेदवार उप्रेतीले व्यवसायीक हित प्रवद्र्धन र एकता नै आफूहरुको मुख्य प्रतिबद्धता रहेको बताए । केही वर्षयता सुर्खेत उद्योग वाणिज्य संघमा देखिएको व्यवसायीहरुबीचको फुट र बेमेलको स्थितिलाई एकतामा रुपान्तरण गर्दै संघलाई सवै व्यवसायीको साझा संस्था बनाउने उप्रेतीको जिकिर छ । उनले व्यवसायीकोे समग्र विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयुक्त उद्योगी – व्यवसायीहरुको प्यानलले सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा व्यवसायीक राहत कोष स्थापना गरिने, व्यवसायीक सेवा केन्द्रलाई सदस्यमुखी बनाउने, अनेकखाले करबाट मुक्ति दिलाउन एकिकृत कर प्रणालीे र आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा जोड दिने, स्थानीय तहको समन्वयमा स्थानीय स्तरमा (विजनेश फोरम) व्यवसायीक मञ्च बनाउने, व्यावसायीक वीमा, बैंकिङ सुविधा तथा उद्यमशिलता विकास तालिम आयोजना गरिनेलगायतका व्यवसायीक हितका लागि प्रतिबद्धता जनाएको छ ।
यस्तै, संयुक्त प्यानलले व्यवसायीलाई सूचना प्रविधिसँग जोड्ने, संघमा आवद्ध सदस्यको भौतिक, व्यवसायीक तथा पेशागत सुरक्षालाई उच्च महत्व दिने प्रतिबद्धता–पत्रमा उल्लेख गरेको छ ।
संघअन्तर्गतका वस्तुगत समितिका आफ्नै सुविधासम्पन्न कार्यालय तथा हल निर्माण गरिने, संघको सचिवालयलाई पेपरलेस बनाइने, उद्योगी व्यवसायीलाई निरुत्साहित गर्ने खालका मेला–महोत्सव नियन्त्रण गर्ने, सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको मेला प्रदर्शनीस्थल निर्माणको लागि पहल गरिनेलगायतका प्रतिबद्धता संयुक्त प्यानलले गरेको छ ।
यस्तो छ, प्रतिबद्धता–पत्र


प्रकाशित मितिः December 14, 2018 at 1:27 pm


कर्मसञ्चार । २०७५ मंसिर २८ गते शुक्रवार