नेकपा प्रदेश कमिटी बैठक जारी, यस्ता छन् एजेण्डा

सुर्खेत, २२ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको बैठक सुर्खेतको वीरेन्द्रनगरमा जारी छ । पार्टी एकता भएको ६ महिनापछि पूर्णता पाएको प्रदेश कमिटीको यो पहिलो बैठक हो ।

आजै सम्पन्न हुने बैठकमा मुख्यगरी पाँच वटा एजेण्डामा छलफल भइरहेको नेकपाका एक नेताले बताए । उनकाअनुसार पार्टी प्रदेश कमिटीले एक महिने अभियान (आर्थिक र सामाजिक क्रान्ति) चलाउने, चलअचल सम्पत्ति एकिकृत गर्ने, पार्टी एकताको सन्देश स्थानीय तहसम्म पु¥याउने, कार्यालय व्यवस्थापन र संसदीय दलको नेता छान्न प्रदेश सचिवालयलाई जिम्मा दिने लगायतका एजेण्डामाथि छलफल भइरहेको छ ।

 

९५ प्रतिशत सदस्य उपस्थित उक्त पहिलो बैठकमा प्रदेश सरकारको समीक्षा पनि भएको छ । सरकार विचौलियाको प्रभावमा परेको, कर्मचारी समायोजनमा ढिलाई भएको लगायत विषयमा समीक्षा गरिएको नेकपा नेताहरुले बताएका छन् । नेकपा कर्णाली प्रदेश कमिटी १ सय ७५ जनाको छ । बैठकका निर्णय आज साँझसम्म सार्वजनिक गरिने बताइएको छ ।

एकता प्रक्रियालाई सबैभन्दा चाँडो टुंग्याएको नेकपा कर्णाली प्रदेश पूर्ण औपचारिक बैठक गर्ने पनि पहिलो प्रदेश बनेको छ । बैठकमा सह–इन्चार्ज यामलाल कंडेल भने उपस्थित भएनन् ।

प्रकाशित मितिः   December 8, 2018 at 5:44 pm 


  • प्रतिक्रिया दिनुहोस्