कर्णालीमा अथाह पर्यटकीय सम्भावना हुँदाहुँदै पूर्वाधारको पर्याप्त विकास र प्रवद्र्धन नहँुदा सिंगै प्रदेश ओझेलमा परेको छ । पूर्वाधारबिनै कर्णालीको सुन्दरता ‘एक्सपोज’ गर्ने सरकारको योजना सफल हुनेमा आशंका गर्न थालिएको छ ।
सुर्खेत, १८ साउन ।
‘चौरमा सुत्ने, ढुंगालाई सिरानी बनाउनुपर्ने अवस्था छ । हिम्मतदार पर्यटकको खाँचो छ ।’
कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले गत चैत अन्तिम साता ‘रारा–कर्णाली पर्यटन वर्षको’ तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यीनै शब्द बोलेका थिए । उनको यो अभिव्यक्ति पहिला पर्यटन वर्ष मनाइहालौं, अनि पूर्वाधार बन्दै गर्छ भन्ने आसयको थियो ।
‘यदि यस्तो सोच हो भने यसले प्रतिफल उल्टो पनि दिन सक्छ,’ पर्यटन व्यवसायी चिन्तामणी शर्मा भन्छन्, ‘पूर्वाधार विना पर्यटन विकास सम्भव छैन ।’ कर्णाली प्रदेश सरकारले प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रविन्दुमा राखेर ‘कर्णाली समृद्धिको आधार ः पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ वैशाख १ गतेदेखि ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मनाइरहेको छ ।
‘तत्कालिन राजा महेन्द्रले मुगुको राराताललाई स्वर्गकी अप्सरासँग तुलना गरे । रारालाई स्वर्गको टुक्रासँग अहिले पनि तुलना गरिन्छ,’ पर्यटन बोर्डले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको छलफलमा पर्यटन व्यवसायीहरु भन्दै थिए – पर्यटकीय पूर्वाधार नहुँदा चाहेर पनि सबैले रारा पुग्न सकिरहेका छैनन् ।
पूर्वाधार नहुँदा लक्षित पर्यटन वर्षका लक्षित उपलब्धि हासिल हुनेमा आशंका छ ।’ यसका लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकार, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र सम्बद्ध क्षेत्रका समुदायबीच सहकार्य हुन नसकेको व्यवसायी शर्माले बताए । पर्यटन बोर्डले कर्णालीका पर्यटकीय स्थल प्रवद्र्धनका लागि ‘माखो’ पनि नमारेको भन्दै उनले पर्यटन बोर्ड नै कर्णालीका लागि नौलो पर्यटक भएको व्यङ्ग्य गरे ।
कर्णालीमा अथाह पर्यटकीय सम्भावना हुँदाहुँदै पूर्वाधारको पर्याप्त विकास र प्रवद्र्धन नहँुदा सिंगै प्रदेश ओझेलमा परेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षभरि पर्यटन केन्द्रित योजना ल्याउने बताए पनि बजेट नीति तथा कार्यक्रमा यसले खासै प्राथमिकता पाएको छैन । कर्णाली सरकारको मन्त्रीपरिषद्को पहिलो बैठकले पर्यटन विकास मार्फत प्रदेशको समृद्धि हासिल गर्ने उद्देश्यले यो वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरेको थियो ।

कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पूर्वाधारको विकास गरेरमात्रै पर्यटक भित्र्याउन खोजे गन्तव्यमा पुग्न नसकिने बताए । ‘हामीले ‘कर्णाली समृद्ध बन्दै छ भन्ने सन्देश प्रवाह गर्न पर्यटन वर्षको सुरुवात गरेका हौं,’ मन्त्री बुढाले भने, ‘क्रमश पर्यटन विकासको विस्तृत कार्ययोजना निर्माण गरेर प्रदेशका सबै पर्यटकीय स्थलको पूर्वाधार विकास गरिनेछ ।’ प्रदेशका १० वटै जिल्लाको पर्यटकीय गुरुयोजना बनाएर भौतिक विकास र प्रचारप्रसार एवं प्रवद्र्धनात्मक कार्यमा जोड दिन सरकार लागिरहेको उनको दावी छ । पर्यटन क्षेत्रको पूर्वाधार र प्रवद्र्धनात्मक कामका लागि आगामी आर्थिक वर्षमा थुप्रै योजनाहरु सञ्चालन गरिने उनले बताए ।
पर्यटक स्थलसम्म सहज पुग्ने सडक, होटल तथा पर्यटकको सुरक्षालगायतका आवश्यक पूर्वाधार विना प्रचार गरेर मात्रै पर्यटक नआउने पर्यटन व्यवसायीहरुको भनाइ छ । पर्यटन प्रवद्र्धनको नारा रटाएर मात्रै प्रदेशको समृद्धि नहुने भन्दै त्यसका लागि पहिला पूर्वाधार निर्माणमा प्रदेश सरकार गम्भीर हुनुपर्ने उनीहरुको तर्क छ । पूर्वाधारबिनै कर्णालीको सुन्दरता ‘एक्सपोज’ गर्ने सरकारको योजना सफल हुनेमा उनीहरुको आशंका छ ।
नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण कुमार अर्यालले पर्यटन बोर्डको काम पूर्वाधार निमार्ण गर्ने नभई पर्यटकीय गन्तव्यको बजारिकरण गर्नु भएको बताए । पर्यटन उद्योग स्थायी, निरन्तर वृद्धि हुने, भविष्य सुनिश्चित र वातावरणलाई असर नगर्ने हुँदा पर्यटन क्षेत्रको लगानी खेर नजाने उनले बताए । पर्यटन बोर्डको कार्यक्षेत्र थाहा नपाएरै अधिकांश ठाउँमा आफूहरुको आलोचना हुने गरेको भन्दै पर्यटन बोर्डका बारेमा सरोकारवाला निकायले थाहा पाइराख्न जरुरी देखिएको उनको भनाइ थियो ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले कर्णाली प्रदेशका असीमित पर्यटकीय सम्भावनाबाट ठूलो लाभ आर्जन गर्न सकिने बताए । सम्भव भएसम्म पूर्वाधारहरूको तत्कालै निर्माण थालिहाल्ने र प्रादेशिक तथा संघीय सरकार र अन्य सरोकारवाला निकायको समन्वयमा पर्यटनको विकास गर्न सकिने उनले आंैल्याए । रारामात्र नभएर पूर्वाधार अभावका कारण डोल्पाको सेफोक्सुन्डो, दैलेखको ज्वाला पञ्चकोसी, सुर्खेतको काँक्रेविहार, सल्यानको कुपिण्डे दहलगायतका मुख्य पर्यटकीय स्थलहरुमा पर्यटक पुग्न सकिरहेका छैनन् । विगतमा वार्षिक करिब ५० हजार पर्यटक कर्णाली भित्रिने गरेको दावी गरेको प्रदेश सरकारले यो वर्ष ५ लाख भित्र्याउने लक्ष्य लिएको छ ।
प्रकाशित मितिः August 3, 2018 at 8:22 am























कर्मसञ्चार । २०७५ साउन १८ गते शुक्रवार