‘गजेन्द्र सर’ जसले स्कुल उकासे

गजेन्द्र राना

सुर्खेत, ७ मंसिर ।
पूर्वीसुर्खेतको गुमीमा जनसंयुक्त नामको प्राथमिक विद्यालय छ । जहाँ गजेन्द्र राना आएपछि निकै सुधार भएको छ । गुर्भाकोट–१४ का ३२ वर्षीय गजेन्द्र चाडपर्व बेला गाउँ आउँथे । एकचोटि गाउँ आउँदा त्यो विद्यालयको दयनीय हालत देखेर चिन्तित भए ।

पढ्न भनेर स्कुल आएका विद्यार्थी दिनभरि माटोमा खेलेर घर फर्केको देख्दा उनको पेट पोल्यो । चाड मान्न आएका गजेन्द्र गाउँमै बसेर स्कुल उकास्ने निर्णयमा पुगे ।

यो पाँच वर्षअघिको कुरा हो । गजेन्द्र रानालाई अहिले यहाँ सबै ‘गजेन्द्र सर’ भनेर चिन्छन् ।

त्यतिबेला जनसंयुक्त प्राथमिक विद्यालयमा विद्यार्थी संख्या निकै कम थियो । पाँच कक्षासम्म पढाइ हुने स्कुलमा जम्मा २४ जना विद्यार्थी थिए । त्यसमाथि शिक्षक अभाव । लथालिंग पढाइ । त्यही भएर यो स्कुललाई गाउँकै अर्को स्कुलमा समायोजन गर्ने तयारी भइरहेको थियो ।

२०७१ सालमा जब गजेन्द्र स्वयंसेवक शिक्षकका रूपमा जनसंयुक्त विद्यालय प्रवेश गरे, उनले यसलाई समायोजन हुन दिएनन् । पढाइको स्तर सुधारे । विद्यार्थी संख्या बढ्यो ।

स्कुलको कायापलट भइरहेको देखेर स्थानीयले नै गजेन्द्रलाई फर्किन दिएनन् । वादी र जनजाति समुदाय बस्ने उक्त गाउँमा त्यो समय उच्चशिक्षा अध्ययन गरेका गजेन्द्र मात्र थिए । काठमाडौंमा रहेर ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनले आफ्नो रोजगारीमा ध्यान दिएनन् । बरु गाउँको त्यो दयनीय अवस्थाको स्कुल सुधार्ने योजना बनाए ।

गजेन्द्र पाँच वर्षदेखि त्यही स्कुलमा स्वयंसेवक शिक्षकका रूपमा कार्यरत छन् । उनको नेतृत्वमा स्कुलको प्रगति प्रशंसनीय छ । पहिले विद्यार्थी संख्या कम भएकै कारण समायोजन हुन लागेको स्कुलमा अहिले बोर्डिङ छाडेर विद्यार्थी भर्ना हुन आइरहेका छन् । विद्यार्थी संख्या १४० भन्दा बढी छ ।

यही योगदानको परिणाम हो, गजेन्द्र रानालाई यहाँ सबै माया र सम्मानका साथ ‘गजेन्द्र सर’ भन्छन् । ‘गजेन्द्र सर’ को नेतृत्वमा स्कुलको अवस्था सुध्रिएको देखेर स्थानीय, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबै खुसी छन् । ‘इच्छाशक्ति भए सम्भव नहुने केही रहेनछ,’ व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर सुनारले सुनाए, ‘गजेन्द्र सर आएपछि विद्यालयको निकै प्रगति भएको छ ।’

यहाँ अचेल अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । विद्यालय पोसाक अनिवार्य गरिएको छ । स्कुलको आँगन सधैं सफा रहन्छ । अभिभावकहरू आफ्ना छोराछोरी भर्ना गर्न ‘सोर्सफोर्स’ लगाउनसमेत पछि पर्दैनन् ।

‘यहाँका अधिकांश अभिभावकले ऋण गरेरै भए पनि आफ्ना छोराछोरीलाई पहिले बोर्डिङ स्कुलमा पढाउँथे,’ गजेन्द्रले भने, ‘अहिले बोर्डिङ छाडेर यहाँ आउनेको लहर चलेको छ ।’

विद्यालयमा गजेन्द्रसहित नौ जना शिक्षक छन् । दुई जना राहत शिक्षकबाहेक अरू सात जनालाई अभिभावकले तलबको व्यवस्था गरेका छन् ।

गजेन्द्र तीन महिना मात्र स्वयंसेवक शिक्षक भएर बस्ने योजनामा थिए । तर, पाँच वर्षदेखि निरन्तर विद्यालय सुधार्ने अभियानमा छन् । आफू जाँदा विद्यालयको अवस्था फेरि पुरानै अवस्थामा फर्किने हो कि भन्ने उनलाई चिन्ता छ ।
‘आफ्ना गाउँका नानीबाबुको भविष्य अन्धकार देखेपछि केही महिनाका लागि सेवा गरौं भन्ने उद्देश्यले आएको थिएँ,’ उनले भने, ‘पाँच वर्ष पुगिसक्यो, विद्यार्थीको भविष्य र अभिभावकको मायाले छोड्नै सकेको छैन ।’

विद्यार्थी संख्याको अनुपातमा भौतिक संरचनाको अभाव रहेको यस विद्यालयलाई पूर्वाधारमा सम्पन्न बनाउने अबको उनको लक्ष्य हो । कक्षा आठसम्म विस्तार गर्ने योजना पनि बनाएका छन् । ‘सरकारी विद्यालयले पनि निजीभन्दा राम्रो शिक्षा दिन सक्छन् भन्ने हामीले प्रमाणित गरेका छौं,’ गजेन्द्रले भने, ‘अब यसलाई भौतिक पूर्वाधारले सम्पन्न बनाउँदै आगामी शैक्षिक सत्रबाट आठ कक्षासम्म पुर्याउने योजना छ ।’

पढाइ सकेर गजेन्द्र छात्रवृत्ति पाए अध्ययन गर्न नर्वे जाने सोचमा थिए । छात्रवृत्ति पाउन नसके कुनै गैरसरकारी संस्थामा आबद्ध भएर काम गर्ने गजेन्द्रको सोच थियो । अब उनको सपना र योजना गुमीमै अल्झिएको छ ।

‘पढाइ सकेपछि जसको पनि लक्ष्य हुन्छ, मेरा थुप्रै साथीहरू पढाइ सकेर बाहिर छन्,’ उनले भने, ‘मेरै सोच थियो, छात्रवृत्ति पाए नर्वे जाउँला भन्ने, त्यति नभए कुनै एनजिओमा काम गर्ने। बीचमा धेरै अफर पनि आए तर जान सकिएन ।’ आफूले अहिले विद्यालयमा गरेको स्वयंसेवाबाट सिकेको ज्ञान किताबमा पनि नपाएको गजेन्द्र बताउँछन् ।

प्रकाशित मितिः   November 23, 2018 at 5:53 pm 


  • प्रतिक्रिया दिनुहोस्