जुम्लाबाट १७ करोडको स्याउ निर्यात

जुम्ला, ६ मंसिर ।
जुम्लाबाट झण्डै १७ करोड बराबरको स्याउ निर्यात भएको छ । चालू आर्थिक वर्षको भदौ महिनादेखि कार्तिकसम्म १७ करोडको स्याउ निर्यात भएको हो । यो वर्ष भदौ १० गतेदेखि स्याउ टिप्न किसानलाई सुचित गरिएको थियो । जसले गर्दा गुणस्तरीय स्याउ उत्पादनमा टेवा पुगेको थियो ।
यस वर्ष स्याउ बेचेर जिल्लाका प्रति स्याउ कृषकले ५० हजारदेखि १० लाखसम्म आम्दानी गरेको तथ्यांक छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै ३ हजार ४ सय टन स्याउ उत्पादन भएको थियो । जसमा २ हजार ३ सय टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको हो । कृषि ज्ञान केन्द्रका विज्ञ बालकराम देवकोटाले स्याउको क्षेत्रफलका आधारमा निकै कम फलेपनि गत वर्षको तुलनामा यो वर्ष उत्पादन बढेको बताए । उनले भने, ‘यो पटक ठिक समयमा स्याउ टिपेकोले गुणस्तर स्वादिलो र रसिलो स्याउ बजारमा पुगेको हो ।’
जिल्लाका आठवटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब ३ सय जना व्यापारीले अनुमति लिएको स्थानीय सरकारको तथ्यांकमा उल्लेख छ । स्थानीय तहले प्रति किलो स्याउ निर्यातको ५० पैंसाका दरले कर संकलन गरेको थियो । यहाँका स्याउ किसानले बगैचामै ६० रुपैयाँ प्रतिकेजीमा बेचेका हुन ।
जुम्ली स्याउ सुर्खेत, नेपालगञ्ज, विराटनगर, पोखरा महेन्द्रनगर, लगायत देशका प्रमुख व्यापारिक सहरमा समेत पुगेको छ । यहाँको स्याउ लेवलिङ, ग्रेडिङ र प्योकेजिङ आधारमा बजारमा लिने चलन छ, कृषि बिज्ञ देवकोटाले भने, ‘गे्रड ए, बी र सी आकारको स्याउ बजारमै लैजान गरिएकोमा डी ग्रेड भन्दा सानो स्याउको चाना, जाम, जुस, जेली र ब्राण्डी बनाउने गरिन्छ ।
जुम्लाको ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेती भएकोमा ९ सय हेक्टरमा लगाइएको स्याउले फल दिन्छ । गत वर्ष ३ हजार ७ सय टन स्याउ निर्यात भएको थियो । जुम्लाका कुल १८ हजार घरधुरीमध्ये १४ हजार घरमा स्याउ बगैचा छन् ।

प्रकाशित मितिः   November 22, 2018 at 3:17 pm 


  • प्रतिक्रिया दिनुहोस्