
दैलेख, २६ पुस ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन्। कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो।
वडाध्यक्ष राजुकुमार खत्रीले यही पुस महीनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बालविवाह रोकिएका जानकारी दिए। भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकाइएको थियो।
पछिल्लो समय बालविवाह गर्नेको सङ्ख्या बढेकाले वडा कार्यालय र स्थानीय संघसंस्थाले बाल विवाह विरोधी अभियान संचालन गरिरहेका छन्।
वडामा रहेको स्वास्थ्यचौकी र महिला सशक्तिकरण मञ्च दैलेख शाखा पनि बालविवाह रोक्न जुटेको छ। बालविवाह हुने तयारीबारे जानकारी हुनेबित्तिकै केटा र केटी पक्षका अभिभावकलाई वडामा बोलाएर बालविवाहबाट हुने असर, बालविवाहबारे कानूनी प्रावधानबारे जानकारी गराएर दुवै पक्षको सहमतिमा विवाह रोक्ने गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए।
अभिभावकले पनि केटा र केटी दुवै पक्षले उमेर पुगेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता गर्ने गरेका छन्भ। उमेर नपुग्दै विवाह गरेमा उनीहरुका अभिभावकलाई नै कारबाही गरिने वडाध्यक्ष खत्रीले चेतावनी दिए।
नेपालखबरबाट
प्रकाशित मितिः January 10, 2019 at 10:40 am


कर्मसञ्चार । २०७५ पुष २६ गते बिहीवार