दैलेख कृषि कार्यालयका तत्कालिन प्रमुखसहित १२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १० पुस ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुखसहित १२ जना  कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिड किट्स वितरणमा अनियमितता भएको भन्दै अख्तियारले  तत्कालिन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. नरहरि घिमिरेसहित १२ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कर्मचारी र ठेकेदारको मिलेमतोमा सिड किट्स खरिद नै नगरी खरिद गरेको देखाई ढुवानीसमेत गरेको नक्कली विल भर्पाई बनाएर भुक्तानी लिएको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले वागवानी विकास अधिकृत सूर्यनाथ योगी, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, वागवानी विकास अधिकृत भुवनबहादुर मल्ल, नायब सुब्बा नमराज थापा, लेखापाल रामकुमार शाह, प्राविधिक सहायक मिमबहादुर शाही, नायब प्राविधिक सहायक रगबहादुर वपाल, प्राविधिक सहायक पूर्णबहादुर थापा र जिल्ला समन्वय समितिका सव इन्जिनियर रामप्रसाद शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सव इन्जिनियर शर्मा सिभिल निर्माण सेवाका सञ्चालकसमेत हुन् । अख्तियारले तत्कालिन कार्यालय प्रमुख डा. नरहरि घिमिरेसँग १० लाख ५० हजार ९ सय ६१ रुपैयाँ विगो माग दावी गरेको छ । वागवानी विकास अधिकृत सूर्यनाथ योगीसँग १८ लाख ३६ हजार ४०० र लेखा अधिकृत ढालबहादुर हमालसँग १२ लाख ४६ हजार ४ सय ८१ रुपैयाँ विगो माग गरिएको छ ।

त्यस्तै, ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

साभारः अनलाइन खबरबाट

प्रकाशित मितिः   December 25, 2018 at 4:49 pm 


  • प्रतिक्रिया दिनुहोस्