धान भित्र्याउने चटारो (फोटोफिचर)


वीरेन्द्रनगर–१० कुन्टीमा खेतबाट धान ओसार्दे किसान । दशैंतिहार मनाएपछि यहाँका किसानलाई यतिबेला धान भित्र्याउने चटारो छ । जिल्लाका अधिकांश भेगका किसानहरु धान थन्काउन व्यस्त देखिन्छन् । किसानहरुका घरमा केही दिनभित्र धानका भकारी कसिँदै छन् ।

असारमा मानो रोपेर मंसिरमा मुरी धान भित्र्याउने किसानलाई हिजोआज भ्याईनभ्याई भएको हो । धान पाकेर खेत पहेलपुर भएपछि किसानलाई खेतमा चरा मुसाले सखाप पार्ने चिन्ता हुन्छ । अघिल्लो वर्षको तुलनामा सुर्खेतमा यसपटक धान राम्रो फलेको किसानहरूले बताएका छन् ।

जिल्लाको धेरै धान फल्ने वीरेन्द्रनगरको तल्लो भाग (सानो सुर्खेत), रामघाट, दशरथपुर, मेहलकुना, सहारे, मालारानी, गुमी, दहचौर, बाबियाचौर, विद्यापुरलगायतका भेकका किसानहरु यतिबेला धान काट्न, चुट्न र दाही हाल्न व्यस्त छन् ।
सुर्खेतमा झन्डै १५ हजार हेक्टरमा धानखेती गरिन्छ । जिल्लामा करिब ४० प्रतिशत धानखेती हुने जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

प्रकाशित मितिः   November 19, 2018 at 12:13 pm 


  • प्रतिक्रिया दिनुहोस्