मुख्यमन्त्री शाहीले भने, शान्ति सुरक्षालाई विकास अभियानसँगै जोडौं

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नारासहित अपराध रोकथाम, शान्ति सुरक्षा र स्थायित्वका लागि आइतवारदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी अभियानको शुरुवात गर्दै मुख्यमन्त्री शाहीले समुदायको सुरक्षा समुदायकै सरोकार भएकोले शान्ति सुरक्षा कायम गर्न प्रहरीसँग सहकार्य गर्न आवश्यक रहेको औंल्याए ।

 

सुर्खेत, ११ कात्तिक ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको बताएका छन् । शान्ति सुरक्षालाई अलग राखेर विकास र समृद्धिको अभियान पुरा नहुने भन्दै मुख्यमन्त्री शाहीले शान्ति सुरक्षालाई विकास अभियानसँग जोड्नुपर्ने बताए ।

‘हर प्रहर, गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नारासहित अपराध रोकथाम, शान्ति सुरक्षा र स्थायित्वका लागि
आइतवारदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी अभियानको वीरेन्द्रनगरमा शुरुवात गर्दै मुख्यमन्त्री शाहीले समुदायको सुरक्षा समुदायकै सरोकार भएकोले शान्ति सुरक्षा कायम गर्न प्रहरीसँग सहकार्य गर्न आवश्यक रहेको औंल्याए ।

‘सुरक्षाको प्रत्याभुति विना समाजमा कसैले पनि केही काम गर्न सक्दैन,’ मुख्यमन्त्री शाहीले भने, ‘नागरिकको मौलिक हकको रुपमा रहेको शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी थप जिम्मेवार हुनुपर्छ ।’ अपराध नियन्त्रणका लागि सूचना महत्वपुर्ण हुने र सूचनाको श्रोत जनता भएकोले जनतासँग प्रहरीले साझेदारी गर्नुपर्ने उनले बताए ।

संघीय प्रहरी ऐन निर्माणमा भएको ढिलाईका कारण प्रदेश सरकारले शान्ति सुरक्षाको जिम्मेवारी लिन नसकेको उनको भनाइ थियो । ‘ऐन नबनेका कारण प्रदेश सरकार प्रहरीविहीन छ’ मुख्यमन्त्री शाहीले भने, ‘शान्ति सुरक्षाको जिम्मेवारी प्राप्त भएको १५ दिन भित्रै जनताले महशुस गर्नेगरी काम हुन्छ ।’ सिमित साधन श्रोत र जनशक्तिको अभावका बीच पनि प्रहरीले प्रभावकारी काम गरेको भन्दै मुख्यमन्त्री शाहीले नेपाल प्रहरीको प्रशंसासमेत गरे ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षाको दायित्व प्रहरीको मात्रै हो भन्ने धारणा त्याग्नुपर्नेमा जोड दिए । भयरहित र सुरक्षित समाज निर्माणका लागि हरेक नागरिकको दायित्व भएको वताउदै मन्त्री भण्डारीले समुदाय र प्रहरीको साझेदारीले मात्र सुरक्षित समाज निर्माण हुने जिकिर गरे ।

प्रकाशित मितिः   October 28, 2018 at 5:23 pm 


  • प्रतिक्रिया दिनुहोस्