सुर्खेत, (बड्डीचौर) १८ भदौ ।
प्रहरीको पहिलो काम जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने हो । तर, त्यही प्रहरी भौतिक पुर्वाधारको हिसावले असुरक्षित हुँदा कार्यसम्पादनमा असर पर्ने नै भयो ।
दुई कोठे जस्तापाताले छाएको टहराले न घाम छेक्छ नत पानी । पश्चिम सुर्खेतको बराहताल गाँउपालिकास्थित बड्डीचौर प्रहरी चौकीले स्रोत साधनको अभावमा पनि सेवा दिइरहेको छ ।
‘गर्मी महिनामा घामले बसिनसक्नु हुन्छ, बर्खामा पानी चुहिएर कोठाभित्रै खाल पर्छ,’ चौकी ईन्चार्ज (प्रहरी सहायक निरीक्षक) कृष्णप्रसाद कंडेलले भने, ‘भौतिक संरचना नहुँदा सेवा प्रवाहमा नै समस्या हुने गरेको छ ।’ चौकी जिर्ण र असुरक्षित भएपनि कसैले चासो नदेखाएको उनले गुनासो गरे । चौकी नै जिर्ण बन्दा सुरक्षाकर्मी जोखिम मोलेर बस्न बाध्य छन् ।
कर्णाली राजमार्ग बनाउँदा निर्माण कम्पनीले सामग्री राख्न बनाएको अस्थायी टहरोमा प्रहरी चौकी छ । लामो समयदेखि जिर्ण भवनबाट सेवा दिदैँ आएको चौकीमा खानेपानी र शौचालयको समेत गतिलो व्यवस्था छैन । बड्डीचौर चौकीले बराहतालका ५ वटा वडा हेर्छ ।

बराहतालको चेपाङदेखि दैलेखको गुराँस गाउँपालिकासँग जोडिएको सेतोभिरसम्म सुरक्षा दिनुपर्ने चौकीमा जनशक्ति पनि अभाव छ । १० जनाको दरवन्दी रहेकोमा हाल इन्चार्जसहित ८ जना प्रहरी कार्यरत छन् । पश्चिमका अन्य चौकीहरुमा पनि कमजोर भौतिक संरचना, सवारी साधन र जनशक्ति अभावमा सेवा प्रवाहमा समस्या आउने गरेको इलाका प्रहरी कार्यालयका ईन्चार्ज (प्रहरी निरीक्षक) सुशोभन श्रेष्ठले बताए । बड्डीचौर चौकीको भौतिक पूर्वाधार सुधारका लागि गाउँपालिकासँग अनुरोध गरेको उनले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पश्चिम सुर्खेतमा घरेलु हिंसा, बालविवाह र घरेलु मदिराजस्ता समस्या ब्याप्त छन् ।
अवैध घरेलु मदिरा नष्ट

बड्डीचौर प्रहरीले सोमबार १ हजार लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले बराहताल–५,७ र बड्डीचौर बजार क्षेत्रमा अवैद्य रुपमा उत्पादन गरिएको मदिरा (तयारी र कच्चापदार्थ) बरामद गरी नष्ट गरेको हो ।
घरेलु मदिराकै कारण पश्चिम सुर्खेतमा घरेलु हिंसा र झैझगडा बढेकाले त्यसको रोकथाका लागि मदिरा नियन्त्रण अभियान चलाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मदिरा सेवनका कारण समाजमा अपराधिक घटना घट्ने गरेको पाईएको भन्दै प्रहरीले निरन्तर अभियान चलाएर घरेलु मदिराको उत्पादन र बेचबिखनमा कडाइ गर्ने उनले बताए ।
प्रकाशित मितिः September 3, 2018 at 7:36 pm













कर्मसञ्चार । २०७५ भाद्र १८ गते सोमवार