स्वास्थ्य संस्थाको सेवा सुदृढीकरणका लागि बजेट अख्तियारी

तीनवटा स्वास्थ्य संस्थालाई एक–एक करोड बजेट दिने कर्णाली सरकारको निर्णय


सुर्खेत । कर्णाली प्रदेश सरकारले तीनवटा स्वास्थ्य संस्थाको सेवा सुदृढीकरणका लागि एक–एक करोड बजेट व्यवस्था गरेको छ । सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
बिहिवार (आज) बिहान बसेको मन्त्रिपरिषद् बैठकले सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिका, दैलेखको दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिका र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक–एक करोड बजेटको व्यवस्था गरेको छ ।
त्यसैगरी मन्त्रिपरिषद बैठकले दैलेखस्थित इलाका प्रहरी कार्यालय राकम कर्णालीको अधुरो भवन निर्माणको लागि साठी लाख रुपैयाँ सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय गरेको छ । बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मितिः   January 8, 2026 at 3:14 pm 


  • प्रतिक्रिया दिनुहोस्