
डोल्पा, ११ कात्तिक ।
हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको–४ नाम्दोको राहाप गुम्बाबाट बुद्धका मूर्ति चोरी भएका छन् । साविकको साल्दाङ गाविसको नाम्दोमा रहेको राहाप गुम्बाका एक थान बौद्ध स्तूपासहित ४२ थान पूराना बुद्धमूर्ति चोरी भएका हुन् ।
चोरी हुने खतराबाट जोगाउनका लागि लुकाएर राखेका स्तूपा र मूर्ति चोरी कति दिन पहिला भयो भन्नेबारे कसैलाई पनि जानकारी छैन । कम्तिमा पनि एकसाता पहिले नै चोरी भएको हुनुसक्ने स्थानीयहरु बताउँछन् । सयांै वर्ष पूराना बौद्धका मूर्ति चोरी हुन थालेपछि स्थानीयबासी त्रसित भएका छन् । पुजारी र गाउँका जानमानको राहोवरमा सुरक्षित स्थानमा राखिएका मूर्ति स्तूपा कसरी चोरी भए भनी अचम्मित भएको स्थानीय क्याल्छेन गुरुङले बताए ।
गुम्बाका बहुमूल्य मूर्तिहरु २०६२ सालदेखि नै राहाप गुम्बाका पुजारी लामाहरु कुन्साङ लामा, सोनाम गुरुङ, पेमातोर्चे लामा र थुक्तेन बुढाको संरक्षणमा राखिएको स्थानीय बताउछन् । राहाप गुम्बा नाम्दो गाउँ भन्दामाथि रहेकाले लामा पुजारीहरुले पालैपालो सुरक्षा गर्ने गरेका थिए ।
सयौं वर्ष पूराना बौद्ध स्तूपा र बुद्धका मूर्तिहरु गत असारसम्म गुम्बामै रहेको स्थानीयहरु बताउँछन । लामा पुजारीहरुको सुरक्षामा रहेका स्तूपा र बहुमूल्य मूर्तिहरु कसले कहिले चोरी ग¥यो ? भन्नेबारे कसैलाई जानकारी नभएको वडा नं ४ का वडाअध्यक्ष पेमावाङछेन लामाले बताए । यही कार्तिक ७ गते गुम्बाका पुजारी लामा गुम्बाको बाटो भएर चौरी गोठालो जाँदा मूर्ति चोरी भएको आशंका गरेर स्थानीयलाई जानकारी गराएका थिए ।
उच्च हिमाली क्षेत्र भएका कारण सुरक्षाकर्मी असोजसम्म मात्र माथिल्लो डोल्पामा बस्ने गर्दछन् । गुम्बा रहेकै स्थानमा प्रहरी चौकी रहे पनि चिसो बढेसँगै प्रहरी सदरमुकाम फर्किएको छ । प्रहरी फर्किएपछि नै चोरी भएको अनुमान स्थानीयले गरेका छन् । चीनसँग सीमाना जोडिएका डोल्पाका तीन गाउँपालिका सुरक्षाविहीन छन् । हरेक वर्ष माथिल्लो डोल्पाका गुम्बाहरुबाट सयौं वर्ष पूराना बुद्धका मूर्ति, स्तूपालगायत बुद्धका पुस्तक चोरी हुने गरेका छन् ।
प्रकाशित मितिः October 28, 2018 at 5:00 pm























कर्मसञ्चार । २०७५ कार्तिक ११ गते आइतवार