
सुर्खेत, ६ कात्तिक ।
वीरेन्द्रनगरको मुख्य बजार आज बिहानैदेखि सुनसान छ । दशैंका कारण केही दिनयता चहलपहल कम भएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बजार मंगलबार भने व्यवसायीकै बन्दका कारण सुनसान भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले कृषि तथा साँस्कृतिक पर्यटन प्रबद्र्धन व्यापार महोत्सव लगाउँदै छ । यही कात्तिक ९ देखि १९ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन गर्न लागिएको व्यापार मेलाको विरोधमा व्यवसायीहरूले बजार बन्द गरेका हुन् ।
स्थानीय व्यवसायीहरूसँग समन्वय नै नगरी मनोमानी रुपमा मेला लगाउन खोजेको भन्दै विशेषगरी फेन्सी व्यवसायीले बजार बन्द गरेका हुन् । ‘हामीसँग समन्वय गरिएन्,’ फेन्सी व्यवसायी अर्जून पाण्डेले भने, ‘विभिन्न समुहको नाममा मेला लगाइराख्ने विकृति भयो, यसले गर्दा स्थानीय व्यवसायी मर्कामा परे ।’ बाहिरबाट कमसल सामग्री ल्याएर सस्तोमा बेच्दा आफूहरुको व्यवसाय धरापमा परेको उनले बताए । राज्यलाई कर तिरेर व्यवसाय गर्नेहरू यस्ता खाले मेला महोत्सवको मारमा पर्ने गरेको उनको आरोप छ ।
सुर्खेत उद्योग वाणिज्य संघ अन्र्तगत फेन्सी रेडिमेट वस्तुगत समितिका सदस्यसमेत रहेका पाण्डेले आफूहरूको आन्दोलनमा उद्योग वाणिज्य संघको पनि साथ रहेको दाबी गर्दै व्यसायीहरू कसैको करकापमा नभै स्वतस्फूर्त आन्दोलित भएको जिकिर गरे । व्यापार राम्रो हुने सिजनमा नै मेला लगाउने परिपाटीले व्यवसायीहरूलाई आन्दोलित हुन बाध्य पारेको उनको भनाइ छ ।
व्यवसायीका अनुसार आजै वीरेन्द्रनगर नगरपालिका र उद्योग वाणिज्य संघसँगको थप छलफलपछि मात्रै विरोधका कार्यक्रम गर्ने या नगर्ने बारे तय हुनेछ ।

यता, मेला आयोजक मुल समितिका संयोजक पञ्चसिंह रोकायले व्यवसायीले नै व्यापार मेलाको विरोध गर्नुको औचित्य नभएको बताए । स्थानीय व्यवसायीका लागि स्टल बुकिङमा समेत २० प्रतिशत छुट दिएको भन्दै सबैको समन्वय र सहकार्यबाटै मेला आयोजना गर्न लागिएको उनको दाबी छ । ‘आफूले पटक–पटक मेला लगाउँदा व्यवसायीहरू मर्कामा नपर्ने अरुले लगाउँदा चाहीँ किन विरोध ?,’ रोकायले भने आफूले गर्दा ठिक र अरुले गर्दा बेठिक भन्नु विरोधका लागि विरोध मात्रै हो ।’ तयारी पुरा भइसकेकाले निर्धारित दिनमै महोत्सव शुरु हुने उनले बताए ।

यसअघि सुर्खेत उद्योग वाणिज्य संघ तथा विभिन्न संघ संस्थाले लगाएका मेला/महोत्सवको हिसाबकिताब पारदर्शी तरिकाले सार्वजनिक नगरिएको र उद्देश्यअनुरुप काम नभएको भन्दै मेला आयोजकहरूप्रति यहाँका स्थानीको असन्तुष्टि छ ।
प्रकाशित मितिः October 23, 2018 at 12:41 pm













कर्मसञ्चार । २०७५ कार्तिक ६ गते मंगलवार