बिजुली बसमा प्रधानमन्त्री

काठमाडौं, ६ कात्तिक ।
काठमाडौंमा विद्युतबाट चल्ने बस सञ्चालनमा ल्याइएको छ । साझा यातायातले मंगलबारदेखि बिजुली बस सञ्चालन गरेको हो ।
बिजुली बस नाम दिइएको उक्त बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकबाट सिंहदरबारसम्म यात्रा गरे । बसमा प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए ।
२०२० सम्म २० प्रतिशत विद्युतीय बस
प्रधानमन्त्री ओलीले सन् २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने दाबी गरे । एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाई पाँच वटा बिजुली बस दिएको हो । तर, लुम्बिनीमा पूर्वाधार नबनेकाले हाललाई साझा यातायातको व्यवस्थापनमा काठमाडौं उपत्यकामा सञ्चालन गर्ने सहमति भएको छ ।
गौतमबुद्ध विमानस्थल नबनेसम्म उपत्यकामा बिजुली बस चलाउने सहमति भएको साझा यातायातका निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । ‘लुम्बिनीमा पूर्वाधार नबनिसकेकाले हाललाई साझाको व्यवस्थापनमा उपत्यकामा चलाउने घोषणा गरिएको हो, उनले भने । उनका अनुसार चिनियाँ कम्पनीले निर्माण गरेको बिजुली बसमा चालकसहित २० सिटको क्षमता छ ।

प्रकाशित मितिः   October 23, 2018 at 3:36 pm 


  • प्रतिक्रिया दिनुहोस्