
सुर्खेत, २८ फागुन ।
दैलेखमा रहेको पेट्रोलियम खानीको उत्खनन् हुने भएको छ । चीनको अनुदान सहयोगमा दुई वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ बाट काम थाल्ने भएको हो ।
चीनले २ अर्ब ४० करोड रुपैयाँ लगानीमा २ वर्षभित्र उत्खनन् गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ । एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा.सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२–१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खनन्सम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको हो । दुई वर्षअघि भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पेट्रोलियम खानीको उत्खनन् गर्न चीनलाई जिम्मा दिने सहमति भएको थियो ।
चिनियाँ कम्पनीले दैलेखमा ड्रिलिङ गर्ने र पाल्पाको पहाडी क्षेत्रमा बम पड्काएर अध्ययन गर्ने तथा तराई क्षेत्रमा भाइब्रेसनबाट पेट्रोलको मात्रा र कुन स्तरको भनी पत्ता लगाउने छ । चीन र नेपाल दुवैले यो परियोजनालाई निकै महत्वका साथ लिएका छन् । उत्खननको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने छन् । पेट्रोलियम पदार्थका खानी दैलेखको भैरवी गाउँपालिका–१ शिरस्थान र दुल्लु नगरपालिका–१० को नाभीस्थानमा छन् ।
उत्खनन् सामग्री र विषेशज्ञसहितको चिनियाँ टोली वैशाख दोस्रो साता आउने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले यस वर्ष अन्वेषणका लागि रकम विनियोजन गरेको छ । चिनियाँ कम्पनीको रिपोर्टमा दैलेखमा पेट्रोलियम पदार्थको पर्याप्त सम्भावना रहेको उल्लेख छ ।
प्रकाशित मितिः March 12, 2019 at 2:49 pm













कर्मसञ्चार । २०७५ फागुन २८ गते मंगलवार