दशैंमा यसकारण छापिन्छ नयाँ नोट

सुर्खेत, १८ असोज।
दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ ? खासमा दशैंमा किन निकाल्छ त राष्ट्र बैंकले नयाँ नोट ?
यसको सोझो उत्तर हो–छैन । तर, अहिले मनोविज्ञान कस्तो भइसकेको छ भने मानिसहरु दशैं आए पछि नयाँ नोटको व्यवस्थापनमा लाग्न थालिहाल्छन् ।

दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैंको जस्तो मात्र हो । इस्टमित्र र बालबालिकालाई दक्षिणा दिँदा नयाँ नोट दिने प्रचलन बढेको हो । दशैं र नयाँ नोट वा राष्ट्र बैंकको त्यस्तो ठूलो सम्बन्ध छैन । पछिल्ला केही वर्ष कस्तो भइसकेको छ भने दशैंमा नयाँ नोट चाहिन्छ नै भन्ने ‘लहड’ बढेको छ ।

दशैंमा मात्र छापिने हो नयाँ नोट ?

नेपाल राष्ट्र बैंकले दशैंमा जति नयाँ नोट बजारमा पठाउँछ, त्यति धेरै नयाँ नोट वर्षको अरु कुनै समयमा पठाउँदैन । यस्तो किन भने नेपाली बजार दशैंमा चलायामान हुन्छ ।

दशैंको आउनै लाग्दा नेपाली बैंकहरुमा निक्षेप निकै धेरै बढ्छ । सँगसँगै घरेलु किनमेलका लागि पैसा धेरै बजारमा पनि जान्छ । यही मौका छोपेर नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा धेरै पठाउँछ ।

यसको अर्थ के हो भने नेपाल राष्ट्र बैंकले अरु समयमा पनि नयाँ नोट बैंकहरुमा ‘सर्कुलेट’ त गरिरहेको हुन्छ, तर दशैंमा चाहिँ उसले निकै धेरै नयाँ नोटहरु निस्कासन गर्छ । यही समयमा नयाँ नोटको माग बढी हुने भएकाले पनि राष्ट्र बैंकले यो समयमा धेरै नयाँ नोट बजारमा पठाउने हो । त्यसरी पठाउने नयाँ नोट अहिले नै छापिएको भन्ने चाहिँ हुँदैन । ती नयाँ नोट निकै पहिले छापिएका पनि हुनसक्छन् जुन राष्ट्र बैंकको स्टकमा राखिएको हुन्छ ।

नेपाल राष्ट्र बैंकले दशैंको छेको पारेर बजारमा नयाँ नोट पठाउने तयारी गरिरहेको छ । केही दिनअघि सुचना निकाल्दै उसले नयाँ नोट २१ असोजदेखि वितरण गर्ने बताएको थियो ।

यो वर्षको व्यवस्था के छ ?

नेपाल राष्ट्र बैंकले यो वर्ष २१ असोजदेखि नयाँ नोट निस्कासन गर्दै छ । राष्ट्र बैंकका ७ कार्यालय र नेपाल बैंक लिमिटेड र वाणिज्य बैंकका विभिन्न कार्यालय गरि ५९ ठाउँबाट नयाँ नोट वितरण गर्ने जनाएको छ ।

राष्ट्र बैंकले अन्य निजी वित्तिय संस्थाहरुलाई पनि नयाँ नोट दिने भएकाले वाणिज्य बैंकहरुबाट पनि नयाँ नोट लिन सकिने जनाएको छ । यसपटक एकजना व्यक्तिले २७ हजार बराबर नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सटहीका लागि १३ अर्ब बराबरका नयाँ नोट निस्कासन गर्ने जनाएको छ । राष्ट्र बैंकले गत वर्ष १२ अर्ब ३३ करोडको खुद्रा मुद्रा सटहीका लागि बजारमा पठाएको थियो । यो रकम सय रुपैयाँ र त्यसभन्दा कम मूल्यका नोटहरुका लागि हो । अर्कोतिर, राष्ट्र बैंकले पाँच सय र हजारका नयाँ नोट बैंकिङ सिस्टमका लागि निस्कासन गर्छ । पाँच सय र हजारका नयाँ नोट ५५ देखी ६० अर्ब जारी गर्ने राष्ट्र बैंकको तयारी छ ।

प्रकाशित मितिः   October 4, 2018 at 11:40 am 


  • प्रतिक्रिया दिनुहोस्