
सुर्खेत, १८ असोज ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय युवा सम्मेलन शुरु भएको छ । दिगो विकास लक्ष्यका लागि नेपाल युवा सञ्जालले राष्ट्रिय युवा सम्मेलनको आयोजना गरेको हो । तीनदिने सम्मेलनमा सातवटै प्रदेशका १८ देखि २४ वर्ष उमेर समूहका ६० युवा सहभागी छन् ।
सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकारले चालू आवको बजेटमा युवा लक्षित थुपै्र कार्यक्रम ल्याएको बताए । उनले कर्णालीको विकासमा मुख्य समस्या नै दक्ष युवा जनशक्तिको कमी रहेको औंल्याए ।
कर्णालीको विकासका लागि युवा सहभागिताको खाँचो रहेको भन्दै मन्त्री ज्वालाले भने, ‘वैदेशिक रोजगारीका कारण युवाहरु बाहिरिने क्रम बढेको छ । अब यो रोक्नुपर्छ । दक्ष युवा शक्तिबिना कर्णाली सम्वृद्ध बन्न सक्दैन ।’
राष्ट्रिय युवासञ्जालका राष्ट्रिय संयोजक अमृत देवकोटाले दिगो विकासका लक्ष्यलाई कसरी हासिल गर्ने र युवामैत्री नीतिका लागि युवाहरुबीच साझा धारणा तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । दिगो विकास लक्ष्यका पाँच आधारशिलामाथी विज्ञहरू डा. राजेन्द्र देवकोटा, योगेन्द्र शाही, नरेश शर्मा, वसन्त गौतम लगायतले सहजीकरण गरिरहेका छन् ।
प्रकाशित मितिः October 4, 2018 at 12:52 pm























कर्मसञ्चार । २०७५ असोज १८ गते बिहीवार