बस्ती–बस्तीमा प्रहरीको साइकल गस्ती

सुर्खेत, १३ असोज ।
प्रहरीले पश्चिम सुर्खेतका बस्ती–बस्तीमा दैनिक साइकल गस्ती थालेको छ । ईलाका प्रहरी कार्यालय बाबियाचौरले अपराधिक घटना, लागूऔषध, घरेलु मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम तथा जनचेतनामूलक कार्यक्रम गर्न बस्ती–बस्तीमा पुग्न साइकल गस्ती शुरु गरेको हो ।

पञ्चपुरी नगरपालिकाले ईलाका प्रहरी कार्यालयका लागि ५ वटा साइकल उपलब्ध गराएपछि प्रहरीले हरेक दिन साइकलमा गस्ती थालेको ईलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज (प्रहरी निरीक्षक) सुशोभन श्रेष्ठले जानकारी दिए । उनले साइकलबाट कुनाकाप्चा र भित्री बस्तीहरूमा समेत पुग्न सकिने भएकाले साइकल गस्ती सुरु गरिएको बताए ।

‘सिमित जनशक्ति र स्रोतसाधनकाबीच पनि शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बस्ती–बस्तीमा पुग्ने गरी गस्ती टोली तयार पारेका छौं,’ प्रहरी निरीक्षक श्रेष्ठले भने ।

प्रहरीको गस्ती टोलीले गुण्डागर्दीमा संलग्न व्यक्तिमाथि निगरानी, त्यहाँ भएका झैंझगडा लगायतमा निगरानी गर्नुका साथै जनचेतनामूलक कामहरू पनि गर्दै आएको जनाइएको छ ।

प्रकाशित मितिः   September 29, 2018 at 2:49 pm 


  • प्रतिक्रिया दिनुहोस्