
चीन भ्रमणका क्रममा मुख्यमन्त्री शाहीलगायत ।
सुर्खेत, १३ असोज ।
♦ हिल्सा–जमुनाह फास्ट ट्रयाक निर्माण सहयोगको प्रारम्भिक समझदारी
♦ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोगको प्रतिवद्धता
♦ कर्णाली एयरलाइन्स सञ्चालन गर्न चीन सरकारसँग ऋणबारे छलफल
एकसाताका लागि चीन भ्रमणमा गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार आफ्नो प्रदेश फर्किएका छन् । शाहीले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै चीन सरकार कर्णालीको विकासमा निकै इच्छुक देखिएको भन्दै यो भ्रमणले सहयोगको वातावरण निर्माण गरेको बताए ।
‘प्रदेश सरकारले अर्को देशसँग प्रत्यक्ष रुपमा कुनै पनि सहमति–सम्झौता गर्न नमिल्ने भएपनि हामीले भ्रमणको क्रममा संघीय सरकारमार्फत चीन सरकारलाई कर्णालीमा आउने प्रशस्त वातावरण बनाएका छौं,’ उनले भने, ‘भ्रमण कर्णाली प्रदेशको विकासका लागि कोशेढुंगा भएको छ ।’
भ्रमणका क्रममा चिनियाँ पक्षसँग हिल्सा–जमुनाह फास्ट ट्रयाक निर्माणको लागि प्रारम्भिक समझदारी भएको उनले जानकारी दिए । चीन सरकार मातहतको चाइना हाइवे कम्पनीसँग भएको उक्त समझदारीमा ‘फिजिबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भे गर्ने उल्लेख छ । ‘अध्ययनपछि कुरा मिल्यो भने संघीय सरकार र चाइना हाइवे कम्पनीबीच सम्झौता भई काम सुरु हुन्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘हाम्रो भ्रमणमा हिल्सा–जमुनाह फास्ट ट्रयाक महत्वपूर्ण उपलव्धीको रुपमा रह्यो ।’
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा विमानस्थल निर्माणका लागि पनि चिनियाँ प्रतिनिधिसँग छलफल भएको बताए । सुर्खेत विमानस्थल स्तरोन्नति र मदाने चौरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोगको प्रतिवद्धता व्यक्त भएको उनले बताए ।
प्रदेश सरकारले ‘कर्णाली एयर’ नाममा आफ्नै एयरलाइन्स सञ्चालन गर्ने सोच बनाएको र उक्त योजनाका लागि चीन सरकारसँग ऋणबारे छलफल भएको पनि शाहीले बताए । ‘कर्णालीमा आन्तरिक उडान र अन्तरप्रदेशीय उडानकन लागि कम्तिमा दुईवटा विमान खरीद गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘यो प्रक्रियामा हामीले चीन सरकारसँग ऋण सहयोगको अपेक्षा गरेका छौं, प्रतिक्रिया सकारात्मक आएको छ ।’
कर्णालीमा लगानी गर्नका लागि प्रदेश सरकारले घोषणा गरेका ट्याक्स फ्रि (कर मिनाह) योजनाबारे पनि चीन सरकारलाई जानकारी गराएको मुख्यमन्त्री शाहीले बताए । यसले चिनियाँ लगानीकर्तालाई भौगोलिक रुपमा बिकट कर्णाली प्रदेशमा लगानी गर्न उत्साहित गर्ने उनको भनाइ छ ।
सिचुवान प्रान्तका गभर्नर यीनलीको निमन्त्रणमा मुख्यमन्त्री शाही तीन सदस्यीय टोलीसहित असोज ३ गते चीन गएका थिए । टोलीमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र सांसद धर्मराज रेग्मी सहभागी थिए ।
प्रकाशित मितिः September 29, 2018 at 3:29 pm























कर्मसञ्चार । २०७५ असोज १३ गते शनिवार