महिलामाथि ‘गिद्धे नजर’

सुर्खेत, ११ मंसिर ।
सुर्खेतको भेरीगंगा नगरपालिका–५, हात्तीखालमा छोरी बलात्कार गरेको आरोपमा झड्केलो बाबु पक्राउ परे । ३० वर्षीय लोकेन्द्र दंगालले दोस्रो श्रीमतीकी ११ वर्षीया छोरी बलात्कार गरेको अनुसन्धानमा खुल्यो ।

गुर्भाकोट नगरपालिकामा ११ वर्षीया बालिका बलात्कृत भइन् । सोही ठाउँका काका नाता पर्नेले उनको बलात्कार गरे ।

बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरी महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेका बेला स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरे ।

माथि उल्लेख गरिएका घटना सुर्खेतमा गत असार र साउन महिनामा भएका हुन् । बलात्कारजस्तो जघन्य अपराधमा आफ्नै बाबु, आफन्त र छिमेकी नै संलग्न भएका यी केही प्रतिनिधि घटना मात्र हुन् ।

समाजमा महिला अर्थात् चेलिबेटी जोगाउनै मुस्किल भएको छ । उनीहरु घरपरिवार, आफन्त, चिनेजानेका र छरछिमेकीकै ‘गिद्धेनजर’ले असुरक्षित बनेका छन् । जवरजस्ती करणी घटनाका आरोपीमा आफ्नै बाबु, पढाउने शिक्षक, पुजारी र झाँक्री जो समाजले भरोसा मानेका र आदर गरेकाहरू नै बढी छन् ।

यतिबेला लैंगिक हिंसाविरुद्धको स्रोह्रदिने अभियान चलिरहेको छ । महिला हिंसा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी संस्थाको प्रयासमा थुप्रै कार्यक्रमहरु पनि भइरहेकै छन् । हिंसाका घटनामा कमी आउनुको साटो झन्–झन् बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ ।

सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन् । अझ घरेलु हिंसाविरुद्धको उजुरीमा महिलाहरूले ठूलो त्रास खेप्नुपर्ने अवस्था छ । समाधानको कुनै विकल्प नभेटिएपछि मात्र यस्ता घटना सार्वजनिक हुने गरेका छन् ।

बोक्सी आरोप, दाइजो नल्याएको, छोरा नपाएको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनका परिवारका सदस्यहरूले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको छ । महिलामाथि हुने घरेलु हिंसाका घटना भने प्रहरी या महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ–संस्थासम्म कमै आउने गरेका छन् । विभिन्न अधिकारकर्मी संघ–संस्था र प्रहरीको रिपोर्टमा पनि आफन्त, चिनेजानेकै व्यक्तिबाट महिलाहरु र विशेषगरी बालिकाहरू असुरक्षित रहेका घटना बढी देखिने गरेको छ ।

महिलामाथि हुने कहालीलाग्दा हिंसाका घटनाहरुले महिला हिंसा अन्त्य गर्न थालिएका अभियानहरुका सकारात्मक पक्षमाथि नै दाग लगाइरहेको महिला अधिकारकर्मीहरूले बताउने गरेका छन् ।

कलिला बालिकालाई सुन्दर भविष्यतर्फ डो¥याउनुपर्ने अभिभावक र आदर गरेकै व्यक्तिबाट यस्तो व्यवहार हुँदा समाजनै असभ्यजस्तो देखिन थालेको छ । पाका र समाजले भरोसा गरेका व्यक्तिहरुकै संलग्नतामा बलात्कार तथा जवरजस्ती करणी हुनु चिन्ताको विषय बनेको छ । महिलामाथि हुने कहालीलाग्दा हिंसाका घटनाहरुले महिला हिंसा अन्त्य गर्न थालिएका अभियानहरुका सकारात्मक पक्षमाथि नै दाग लगाइरहेको महिला अधिकारकर्मीहरूले बताउने गरेका छन् ।

समाजमा बढ्दो दण्डहीनता, अपराधमाथिको राजनीतिकरण, कानुन हातमा लिने प्रवृत्ति र कानुन नै फितलो हुनुजस्ता कारणले यस्ता घटना बढ्दै गएका हुन् । विशेषगरी यस्ता सामाजिक अपराधका घटनाहरुमाथि सरकार निरीह देखिने गरेको छ । यस्ता घटनाहरुमा हुने राजनीतिकरणले अनपेक्षित रुपमा अपराध मौलाउँदै गइरहेको जानकारहरु बताउँछन् । यस्ता अपराधका घटना कानुनको दायरमा अझै आउन सकेका छैनन्, अपराधिक मानसिकताहरु समाज र कानुनदेखि डराउन छाडेका छन् । कडा कानुनको अभाव छ । भएका कानुनहरु पनि नभएसरी छन् । सरकारले महिला हिंसामा ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको छ ।

समाजमा अपराधिक मनोविज्ञान घट्नुको साटो बढ्दै गएको छ । संसदबाट घरेलु हिंसालगायत महिलामाथि हुने जुनसुकै हिंसा विरुद्धका कठोर कानुनहरु निर्माण भएका छन् । तर, यति हँुदाहुँदै पनि महिला हिंसाका डरलाग्दा श्रृंखलाबद्ध घटनाहरु देखा परिरहेका छन् । यसले गर्दा बनेका त्यस्ता कानुनको प्रभावकारितामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।

यस्ता घटनाहरुमा हुने राजनीतिकरणले अनपेक्षित रुपमा अपराध मौलाउँदै गइरहेको जानकारहरु बताउँछन् ।

जबरजस्ती करणी जस्ता यौन हिंसाका घटनाले बनेका कानुन र चल्दै गरेका त्यस्ता विशेष अभियानहरुलाई नै चुनौती दिएका छन् । महिलामाथि हुने कहालीलाग्दा हिंसाका घटनाहरुले महिला हिंसा अन्त्य गर्न थालिएका अभियानहरुका सकारात्मक पक्षमाथि नै दाग लगाइरहेका छन् । कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका आरोप लगाएर चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरूमा दुव्र्यवहार एवं अपशब्दहरूको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रूपमा हुने भएपनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले हेर्ने गरिएको छ ।

वर्षमा ६१ बलात्कृत

कर्णाली प्रदेशमा बलात्कारका घटना बढ्दो छ । गत आर्थिक वर्ष २०७४÷७५ मा ६१ महिला बलात्कृत भए । प्रदेशमै सबभन्दा बढी बलात्कारका घटना सुर्खेतमा भएका छन् । यहाँ गत आवमा २३ जना महिला बलात्कृत भए ।
त्यस्तै, कालिकोट, जाजरकोट, जुम्ला, दैलेख, मुगु, रुकुम (पश्चिम) र सल्यानमा पनि बलात्कारका घटना अत्याधिक घट्ने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यी जिल्लाहरुमा घरेलु हिंसा, बहुविवाह, बालबिवाह, बोक्सी आरोप लगायतका घटनाहरु पनि उत्तिकै घट्ने गरेका छन् ।

समाजले भरोसा गरेका व्यक्तिको संलग्नतामा नै बढी महिला हिंसाका घटना हुने गरेको पाइएको छ ।
पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट बृद्धि भैरहेका छन् । कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडितको हत्यासमेत हुने गरेको पनि पाइन्छ । यौन हिंसामा पर्ने धेरैले कानुनी उपचार पनि पाउन सकेका छैनन् । सामाजिक विचलन बढदै गएकाले यस्ता घटना हुन नदिन अभिभावकहरु पनि जिम्मेवार बन्नुपर्ने जानकारहरू बताउँछन् ।

प्रकाशित मितिः   November 27, 2018 at 5:23 pm 


  • प्रतिक्रिया दिनुहोस्