सुर्खेत, २० भदौ ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) को सहयोगमा सम्पन्न दैलेख र सुर्खेतका ८३÷८३ गरी १६६ उप–आयोजनाहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जाजरकोटको खलंगामा गरिएको आयोजना सम्पन्न गोष्ठीमा ५९ कृषक समूह र सहकारी तथा ८ निजी सेवा प्रदायकले सञ्चालन गरेका उप–आयोजना हस्तान्तरण गरिएको हो ।
त्यस्तै, दैलेख सदरमुकाममा भएको गोष्ठीमा कृषक समुह÷सहकारी संस्था र निजी सेवाप्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
आयोजनाप्रमुख राजेन्द्रप्रसाद भारीले दैलेखका १० वटा स्थानीयतहलाई विस्तृत विवरणसहित ८३ उप–आयोजनाहरु हस्तान्तरण गरे । उनले आठवीस नगरपालिकालाई ७ वटा, भगवतीमाई गाउँपालिकालाई १४ वटा, भैरवी गाउँपालिकालाई ३ वटा, चामुण्डा बिन्द्रासैनी नगरपालिकालाई २ वटा, दुल्लु नगरपालिकालाई १० वटा उप–आयोजनाहरु हस्तान्तरण गरेका हुन् ।
जाजरकोटमा उप–आयोजनाको विस्तृत विवरणसहित भेरी नगरपालिकालाई ६४, छेडागाड नगरपालिकालाई ९, कुशे गाउँपालिकालाई ६ र नलगाड नगरपालिकालाई ४ उप–आयोजना हस्तान्तरण गरिएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले जाजरकोटका किसानलाई ६ करोड १७ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । चारवटा मूल्य श्रृंखलामा आयोजनाको अनुदान पाएपछि किसानले समेत एक करोड ८९ लाख रुपैयाँ खर्च गरेका छन् ।
बेमौसमी तरकारी, खसीबोका, टिमुर र बेसार मूल्य श्रृंखलामा किसान र निजी सेवा प्रदायकलाई अनुदान सहयोग गरिएको आयोजना प्रमुख भारीले बताए । उप–आयोजनामार्फत दुई हजार आठ सय २६ घरधुरीमा सेवा प्रवाह गरिएको छ ।
आयोजनाले किसानले उत्पादन गरेका कृषिजन्य वस्तुलाई बजारीकरण गर्नका लागि भेरी नगरपालिका–६, को पासागाडबाट बाघखोर हुँदै चिसापानी जोड्ने ग्रामीण सडक सुधारमा सहयोग गरेको छ । यस्तै पिपे र पुन्मामा दुई ट्रस्ट ब्रिज र विभिन्न ठाउँमा १० सिमेन्ट पोखरी निर्माण गरिएको छ ।
तीन हजार ९ सय ८४ मिटरको सिंचाइ कुलो निर्माण गरिएको आयोजनाले जनाएको छ । आयोजनाले भेरी नगरपालिका–१०, राउतगाउँमा भेरी नदीबाट सोलार प्रविधिमार्फत पानी तानेर पाँच सय रोपनी जमिनमा सिंचाइ पु¥याएको छ । जिल्ला समन्वय समितिका उप–प्रमुख ज्ञानीप्रसाद आचार्यले आयोजनाले गरिब तथा निम्न किसानको आम्दानी वृद्धि गर्न योगदान गरेको बताए । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कृषिको व्यवसायीकरण र आधुनिकीरणमा जोड दिए ।
दुबै जिल्लामा आयोजना कार्यान्वयन गर्न सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा उप–आयोजनालाई प्रशंसा पत्रप्रदान गरिएको थियो । कार्यक्रममा आयोजनाले तयार पारेको खसीवोका र बेमौसमी तरकारी मूल्यश्रृंखला सम्वन्धी बृतचित्रपनि देखाइएको थियो ।
सल्यानमा चार करोड लगानी

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सल्यानका किसानलाई विभिन्न मुल्य श्रृंखलामा ४ करोड ३ लाख २८ हजार रुपैया अनुदान सहयोग गरेको छ । अनुदान पाएपछि लाभग्राहीले पनि आफ्नो तर्फबाट २ करोड २१ लाख १२ हजार रुपैया खर्च गरेका छन् । आयोजनाले २०७५ साल असार मसान्तसम्म ३ करोड ६० लाख रुपैया भुक्तानी दिइसकेको बताएको छ ।
आयोजनाले सल्यानमा बेमौसमी तरकारी, खसीबोका, टिमुर, अदुवा, बेसार र तरकारी बीउ गरी ६ वटा मुल्य श्रृंखलामा किसान र निजी सेवा प्रदायकलाई अनुदान सहयोग गरेको थियो । ६४ वटा उप–आयोजना मार्फत १ हजार १ सय ७६ घरधुरीका किसानको आयस्तर बृद्धिमा आयोजनाले प्रत्यक्ष रुपमा सहयोग पुर्याएको पनि बताएको छ । बनगाड कुपिन्डे नगरपालिकामा ५२ वटा, कालिमाटी गाउँपालिकामा ९ वटा र सिद्ध कुमाख गाउँपालिकामा ३ वटा उप आयोजना संचालन भएका थिए ।
सल्यान जिल्लामा आयोजना लागु भएपछि आधार वर्षको तुलनामा किसानको आम्दानी १ सय ४२ प्रतिशत अर्थात ४२ हजार ५ सय २३ रुपैयाले बृद्धि भएको छ । आधार वर्षमा प्रतिघरधुरी ९ हजार ५ सय ६९ रुपैया रहेको किसानको आम्दानी बढेर आयोजना सम्पन्न हुँदा ५२ हजार ९१ रुपैया पुगेको आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले जानकारी दिए ।
आधार वर्षको तुलनामा अदुवामा २४ हजार १ सय १९, खसीबोकामा ५३ हजार ९ सय २८, बेमौसमी तरकारीमा ४७ हजार ४ सय ८५, टिमुरमा ८० हजार ६ सय १५ रुपैयाले आम्दानीमा बृद्धि भएको छ । बेसारमा १७ हजार ७ सय ५५ र तरकारी बीउमा ५ हजार ३ सय ६० रुपैयाले आम्दानी बढेको छ ।
प्रकाशित मितिः September 5, 2018 at 6:28 pm













कर्मसञ्चार । २०७५ भाद्र २० गते बुधवार