व्यवसाय गर्न चाहनेलाई ३ लाखदेखि ५ करोडसम्म ऋण

काठमाडौं, ७ असोज ।
कृषि तथा पशुपन्छी सम्बन्धि व्यवसायमा लगानी गर्न चाहनेले सहुलियत ब्याजमा पाँच करोडसम्म ऋण पाउने भएका छन् । मन्त्रिपरिषदबाट पारित सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार कृषि तथा पशुपन्छी क्षेत्रमा व्यवसाय सञ्चालन गर्न चाहनेले पाँच करोड रुपैयाँसम्म ब्याज अनुदानमा ऋण पाउने छ ।

कार्यविधिअनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा १० लाख रुपैयाँसम्म सामूहिक जमानीमै पाइने छ । यसभन्दा बढि चाहिए ब्यवसायिक परियोजना धितो राख्नुपर्ने छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेको कार्यक्रमलाई कार्यविधि बनाएर कार्यान्यवनमा लैजान लागेको हो । जसअन्तर्गत सरकारले शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा दश लाख रुपैयाँसम्म, १५ लाख रुपैयाँसम्म महिला उद्यमशील कर्जा, १० लाख रुपैयाँसम्म दलित समुदाय ब्यवसाय विकास कर्जा उपलब्ध गराउने भएको हो ।

उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा ५ लाख र ३ लाख रुपैयासम्म भूकम्प पीडितहरुको निजी आवास निर्माण गर्ने कर्जा पनि प्राप्त गर्न सकिनेछ । महिला उद्यमशीलता कर्जामा ६ र बाकीमा ५ प्रतिशत ब्याज अनुदान सुविधा उपलब्ध हुने कार्यविधिमा उल्लेख छ । यस्तो कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्षको हुने पनि कार्यविधिमा भनिएको छ । उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितो स्वरुप राख्नुपर्छ ।

विदेशबाट फर्किएका युवाहरुलाई उनीहरुको सीप अनुसार परियोजना धितो राखेर ऋण उपलब्ध हुनेछ । कार्यविधिमा १० लाखभन्दा कम ऋण दिदा अनिवार्य निक्षेप सुरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । कर्जा सुरक्षण गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत सरकारले नै तिर्नेछ भने बैंकले २५ प्रतिशत ब्यहोर्नेछन् । तोकिएको अवधिसम्म ऋण नतिरिए बैंकले सुरक्षण कोषबाट रकम लिन सक्नेछ ।

यस्तै ऋणीले तोकिएको अवधिभित्र ऋण नतिरेमा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिनेदेखि ऋणीको नाममा रहेको चल अचल सम्पति बिक्रीमा बन्देज, बैंकमा खाता रोक्का र सरकारी सुविधाबाट बञ्चित गरिने कार्यविधिमा उल्लेख भएको अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले जानकारी दिए । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र जारी गरेपछि छिट्टै कार्यविधि कार्यान्यवनमा आउने उनले बताए ।

कुन कर्जा लिन के गर्नुपर्छ ?

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा
त्यस्तो कर्जा लिनका लागि १८ बर्ष उमेर पुगेको हुनुपर्नेछ । १० लाख रुपैयाँभन्दा कम ऋण चाहिए जमानी सम्बन्धि कागजपत्र चाहिन्छ । १० लाखभन्दा माथि चाहिए संस्थामा र एक करोडमाथि चाहिए कम्पनीमा दर्ता हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले ऋणका लागि निवेदन प्राप्त भएको २१ दिन भित्र सम्बन्धित व्यक्तिलाई ऋण दिन सक्ने वा नसक्ने जानकारी गराउनु पर्नेछ । कर्जा प्रवाह गर्न नसकिने भएमा स्पष्ट आधार र कारणसहित सम्बन्धित निवेदकलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

शिक्षित युवा स्वरोजगार कर्जा
शिक्षित युवा स्वरोजगार कर्जाका लागि स्नातक उत्तिर्ण भएको र ४० बर्ष ननाघेको हुनुपर्छ । घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालिम केन्द्र, लगायतका सरकारी निकायबाट कम्तिमा सात दिनको तलिम लिएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

वैदेशिक रोजगारबाट फर्किएकालाई कर्जा
विदेशमा कम्तीमा ६ महिना सम्बन्धित क्षेत्रमा काम गरी स्वदेश फर्केका युवालाई यस्तो कर्जा दिइनेछ । कुनै पनि देशको पिआर वा ग्रिनकार्ड भएकाले यो ऋण पाउदैनन् । विदेशबाट फर्किएको तीन बर्ष नपुगेकाले मात्र यो ऋण पाउछन् ।

उच्च र प्राविधिक ब्यवसायिक शिक्षा कर्जा
माध्यमिक तहको शिक्षा पुरा गरी २५ वर्ष ननाघेका आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थीले यस्तो ऋण पाउनेछन् । स्वदेशको कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेकाले पनि यस्तो ऋण पाउने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मितिः   September 23, 2018 at 7:29 pm 


  • प्रतिक्रिया दिनुहोस्