
विश्व सम्पदा सूचीमा सूचीकृत दैलेखको भुर्तीस्थित पञ्चदेवल ।
सुर्खेत, २७ पुस ।
कर्णाली प्रदेशका पर्यटकीय गन्तव्य पूर्वाधार अभावमा पर्यटकको रोजाइमा पर्न सकेका छैनन् । सडक, होटल, विद्युत, खानेपानी, सञ्चारलगायत असुविधाका कारण कर्णालीका प्राकृतिक तथा सांस्कृतिक सम्पदा ओझेलमा परेका हुन् । प्रदेश सरकारले २०७५ लाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ को रूपमा मनाउने घोषणा गरे पनि मुलुककै प्रमुख पर्यटकीय गन्तव्य मानिएका राराताल, से–फोक्सुन्डो ताल, काँक्रेविहार, बुलबुलेताल, पञ्चकोसी, छायानाथ तीर्थस्थल, स्यार्पुताल, सिंजा उपत्यका, कुपिन्डेताललगायत पर्यटकीय गन्तव्य अझै ओझेलमा छन् ।
सडक, होटल, विद्युत, खानेपानी, सञ्चारलगायत असुविधाका कारण कर्णालीका प्राकृतिक तथा सांस्कृतिक सम्पदा ओझेलमा परेका हुन् ।
अधिकांश पर्यटकीय स्थलको गुरुयोजना नबन्दा पूर्वाधार निर्माणका अधिकांश काम अधुरै छन् । पर्यटकलाई आकर्षित गर्ने कुनै प्याकेज नहुँदा र सडक यातायातको भरपर्दो व्यवस्था नहुँदा पर्यटकीय स्थलमा बाह्य पर्यटकको आगमन न्यून छ । प्रदेश सरकारले वर्षभरि ५ लाख पर्यटक भित्र्याउने दाबी गरेको छ, तर अधिकांशमा आधारभूत सुविधासमेत छैनन् ।
रारा यात्रा कष्टपूर्ण
पूर्वाधार अभावका कारण रारा पुग्ने पर्यटक स्तरीय होटलको अभावमा चौरमा टेन्ट राखेर रात बिताउनुपर्ने बाध्यता छ । रारा किनारमा डाँफे गेस्टहाउस र भिलेज हेरिटेज रिसोर्ट दुई होटल सञ्चालनमा छन् । दुवैको क्षमता एक सय बढी पर्यटक अटाउन सक्ने छैन । रारा हुटुदेखि १५ मिनेट टाढाको माझघट्टमा होमस्टेको व्यवस्था गरिए पनि अधिकांश पर्यटक त्यहाँ जान रुचाउँदैनन् ।
गुरुयोजना नबन्दा पर्यटकको संख्या न्यून भएको रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायाले बताए । उनले सडक र हवाई यातायातको समस्याका कारण रारा अझै पर्यटकको रोजाइमा नपरेको बताए । विद्युत, इन्टरनेट र सञ्चार असुविधाका कारण पनि पर्यटक धेरै दिन रारामा टिक्न सकेको छैनन् ।
नाग्म–गमगढी सडकको लामो समयदेखि स्तरोन्नति हुन नसक्दा पर्यटकलाई आउजाउमा समस्या हुने गरेको छ । कच्ची सडक भएकाले सधैं हिलाम्मे र धूलाम्मे हुने गरेको छ । हवाई मार्गबाट आउने पर्यटकको संख्या करिब शून्यजस्तै छ । नेपाल वायुसेवा निगमले रारामा सातामा एक उडान भर्ने गरेको छ, त्यो पनि नियमित नभएको पर्यटन विकास समितिका अध्यक्ष रोकायाले बताए ।
निजी हवाई कम्पनीले पनि उडान गर्न नमान्ने गरेको उनले जनाए । ‘दैनिक एक सय जना पर्यटक जहाजमार्फत रारा जान्छु भन्दा जान पाउँदैनन्,’ रोकायाले भने, ‘सरकारले फ्युलमा केही अनुदान दिए हवाई मार्गबाट विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’ रारामा भदौदेखि मंसिरसम्म पर्यटक घुम्नका लागि राम्रो सिजन मानिन्छ । सिजनको बेला दैनिक दुई हजारसम्म पर्यटक रारामा आउने गरेका छन् ।
सरकारी स्तरबाट राराको विकासका लागि लगानी न्यून भए पनि स्थानीयवासीको सक्रियतामा रारामा दुई सुविधासम्पन्न होटेल स्थापना गरिएको छ । त्यस्तै माझघट्टमा १२ होटल सञ्चालनमा छन् । सबैमा दैनिक चार सय जनालाई एक दिनमा खान बस्ने सुविधा छ । एक सय बढी घोडामार्फत आसपासका गाउँमा घुम्ने व्यवस्थासमेत स्थानीयकै सक्रियतामा भएका छन् । त्यस्तै दुई डुंगामार्फत पर्यटकलाई तालमा घुम्ने व्यवस्था मिलाइएको छ ।
काँक्रेविहारको पुनर्निर्माण अधुरै
काँक्रेविहार पुनर्निर्माण सुरु भएको डेढ दशक बिते पनि अझैसम्म काम अधुरै छ । जंगलमा यत्रतत्र छरिएर रहेका कलात्मक ढुंगा, मूर्तिलगायतका भग्नावशेषलाई जोडेर २१ दशमलव ५ मिटर अग्लो मन्दिर निर्माण गर्न थालिएको छ ।
बौद्ध संस्कृतिका अध्येता जीवनकुमार शाक्यले काँक्रेविहार लुम्बिनीपछिकै ऐतिहासिक, पुरातात्त्विक पर्यटकीय स्थल रहेको दाबी गरे । ‘यहाँ ठूलाठूला ढुंगामा कुँदिएका कलात्मक शैलीका तमाम मूर्तिहरू छन्, अब पुरानै शैलीमा मन्दिर बन्दै छ,’ उनले भने, ‘यसले गर्दा काँक्रेविहारको मात्र नभई समग्र सुर्खेतकै सान बढाउँछ ।’ तर, पूर्वाधार अभावका कारण काँक्रेविहार ओझेलमा परेको उनले बताए ।
विभागले २०५७ सालमा उत्खनन् सुरु गरेको थियो । उत्खननलगत्तै मन्दिर पुनर्निर्माण थालिएको थियो । अग्लो डाँडामा निर्माण हुन लागेको शिखर शैलीको मन्दिरबाट सुर्खेत उपत्यकाका विभिन्न स्थानहरूको दृश्यावलोकन गर्न सकिनेछ ।
शिवविहार पुस्तकालयका कोषाध्यक्ष सुरेश मानन्धरले काँक्रेबिहारको पुनर्निर्माणसँगै मध्यपश्चिमको पहिलो पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे । हाल काँक्रेविहारमा दैनिक ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । मन्दिरको अनुमानित लागत ९ करोड ६५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
पञ्चकोसीको बेवास्ता
एक हजारभन्दा बढी विभिन्न प्राचीन महत्वका सम्पदा रहेको दैलेखमा पूर्वाधार विकास हुन नसक्दा पर्यटकीय चहलपहल न्यून छ । दैलेखका नाभिस्थान, ज्वाला, पञ्चदेवल र पञ्चकोसीलगायत पर्यटकीय गन्तव्य वर्षैभरि सुनसान देखिन्छन् ।
दैलेखका ११ स्थानीय तहले गत आर्थक वर्षमा करिब ४३ करोड लगानीमा सडक निर्माण गरे पनि दुई महिना नबित्दै अधिकांश अवरुद्ध बनेका छन् । सडकको राम्रो सुविधा नहुँदा पर्यटकको आवागमन सन्तोषजनक हुन सकेको छैन । बरु विभिन्न मानवीय क्रियाकलापका कारण पर्यटकीय सम्पदा जोखिममा पर्दै गएका छन् । जथाभावी उत्खननका कारण दैलेखको पहिचान बोकेको श्रीस्थानको ज्वाला सानो बन्दै गएको मन्दिरका पुजारीको भनाइ छ ।

नेपाली भाषाको उत्पत्ति जुम्लाको सिंजाबाट भएको मानिए पनि त्यसको लिपिबद्ध गरिएको इतिहास दैलेखमा छ । नेपालीभाषा लिपिबद्ध गरिएको सबैभन्दा पुरानो भाषालिपि दुल्लुमा छ । शिलालेखमा लेखिएको ‘क’ र ‘ॐ’ शब्दको अस्थित्व अहिले संकटमा परेको स्थानीय अगुवा बताउँछन् ।
खस मल्लकालीन साम्राज्यकालमा जुम्लाको सिंजा हाटमा ग्रीष्मकालीन र दैलेखको दुल्लुमा शीतकालीन राजधानी थियो । संरक्षण अभावमा दैलेखका विभिन्न स्थानमा रहेका एक हजार बढी सम्पदाको अवस्था विजोग छ ।
दुल्लु नगरपालिकाको चौबाटो अवस्थित शिलालेखसमेत संरक्षणविहीन अवस्थामा छ । दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीले विवादका कारण पुरातात्त्विक सम्पदा संरक्षणमा समस्या भएको बताए । गत वर्ष पुरातत्त्व विभागबाट आएको सात लाख रकम विवादका कारण खर्च हुन सकेन । यस वर्ष चार लाख रकम विनियोजन भएको छ ।
दुल्लु बजारमा नेपाली भाषा लिपिबद्ध गरिएका तीन शिलालेख छन् । भाषाको दृष्टिले मात्र नभएर ती सम्पदा ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व रहेको स्थानीयको भनाइ छ । अधिकांश सम्पदा भग्नावशेषमा परिणत हुन थालेकोमा स्थानीयको गुनासो छ । दैलेख विभिन्न ३२ वटा जातजातिको उद्गमथलो भएकाले पनि जिल्लाले महत्वपूर्ण पहिचान बनाएको छ ।
पञ्चकोसी क्षेत्रमा पर्ने श्रीस्थान, कोटीला, नाभिस्थान, पादुका, धुलेश्वर, भैरवीलगायत पञ्चकोसी क्षेत्रमा महत्व बोकेका पुराना मूर्ति र घन्टहरू अहिले चोरी भइसकेका छन् । जिल्लाका ४० सम्पदा खानी तथा भूगर्भ विभागमा सूचीकृत भएका छन् तर सबैमा पूर्वाधार विकास शून्यजस्तै छ ।
सदरमुकाम दैलेख बजार नजिकै रहेका ९ सय वर्षअघिका भुर्र्तीिस्थत पञ्चदेवललगायत मन्दिर टुक्रिँदै र फुट्दै गएका छन् । तीनवटाको जीर्णोद्धारको काम भए पनि प्रचारप्रसार र व्यवस्थित नहुँदा ओझेलमा पर्दै गएका छन् । सदरमुकामको मध्यभागमा कोतगढी निर्माण गरिएको छ । बाइसे र चौबीसे शासनकालमा बनेका कोतगढी नेपाली सेनाको सुरक्षामा छन् । पर्यटकले गढीको अवलोकन गर्न खोजे पनि सुरक्षाको कारण भन्दै वञ्चित गराइँदै आइएको छ ।

स्थानीय अगुवा खड्गराज सिजापतिले पुरातात्त्विक महत्त्वका सम्पदा धेरै भए पनि संरक्षण र पूर्वाधार निर्माणको अभावका कारण पर्यटकको रुचिमा पर्न नसकेको बताए । नारायण नगरपालिका प्रमुख रत्नबहादुर खडाले पर्यटकीय महत्वका सम्पदाको संरक्षण गरी पर्यटकीय गतिविधि बढाउने गरी नगरपालिकाले योजना निर्माण गरिरहेको बताए ।
कालिकोटका पर्यटकीय स्थलको प्रवद्र्धनमा सडकलगायत पूर्वाधार प्रमुख समस्या हुन् । यद्यपि, कर्णाली सरकारले अछामको रामारोशन हुँदै बडिमालिकाको त्रिवेणी पाटन र रास्कोटको सिप्टी जोड्ने पर्यटकीय सडक निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मितिः January 11, 2019 at 4:10 pm


कर्मसञ्चार । २०७५ पुष २७ गते शुक्रवार